निर्मला हत्याकाण्डको कथा अब चलचित्रमा, ८० लाखमा छायाङ्कन सकियो

कन्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्ता लगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको व्यापक आलोचना  भईरहेको छ । हत्या काण्डले दिन प्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु संचार माध्यामहरुमा आईरहेका छन् । यसै घटनाको कथामा आधारित चलचित्र ‘कोपिला’ को निर्माण भएको छ । ‘कोपिला’को करिव एक महिनाको अवधिमा सोमबार छायाङ्कन सम्पन्न भएको छ । यो चलचित्र शिबम अधिकारीको लेखन एबम निर्देशनमा निर्माण भएको हो ।

करीव ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो चलचित्रमा  स्व. पन्तको बलात्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्थामा आईपुग्दाको घटनाक्रमलाई चित्रण गरिएको कुरा चलचित्रका लेखक तथा  निर्देशक अधिकारीले बताए । ‘कोपिला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक असरलाई समावेश गरिएको थाहा भएको छ । चलचित्रकी प्रमुख पात्र निर्मला अर्थात ‘कोपिला’को भूमिकामा संजीवनी खरेललाई फिचर गरिएको छ । चलचित्रमा संचारकर्मी  मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् भने कलाकार गणेश गिरीको प्रस्तुति रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सह निर्मातामा सम्पादक तथा एनिमेटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन् । चलचित्रमा सरिता गिरी, गणेश गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने  शिव शरण न्यौपाने छायाकार, रामबाबु खड्का मुख्य सहायक निर्देशक र  दीपक शर्मा सङ्गीतकारको रुपमा रहेको थाहा भएको छ ।