अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । बिभिन्न उपहार, रिचार्ज, बिदेश भ्रमणको अवसर, यस्तै गरी देशब्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ । यसैबीच आउँदो शुक्रबारबाट पनि ठूला मानिएका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘रोज’ र ‘राम कहानी’ यही शुक्रबारबाट एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बुधबार मात्रै चलचित्र ‘रोज’ ले देशब्यापी कन्सर्ट सकाएको छ । एकसाता अघि पोखराबाट शुरु भएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो भने काठमाडौंमा गोंगबू र लगनखेलमा कन्सर्ट गरिएको थियो ।
रोज टिमले बुधबार गोंगबूस्थित बिएसआर फिल्म हल अगाडि कन्सर्टको आयोजना ग¥यो । थुप्रै दर्शक कन्सर्ट हेर्न पुगेका थिए । विशेषगरी ‘रोज’ का नायक प्रदीप खड्काका युवा फ्यान भएकै कारण कन्सर्टमा दर्शक बढी देखिन्थे, त्यसमाथि पनि युवती अझ बढी । चलचित्रका नायक प्रदीप खड्का, नायिकाद्वय मिरुना मगर, परमिता आरएल राणाका साथै गायक प्रताप दास, हास्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम कन्सर्टमा सामेल भएका थिए । सुरुमा प्रतापले गीत गाउँदै गर्दा माहोल तातिएको थियो । जब नायक प्रदीप खड्का स्टेजमा उत्रिए युवा-युवतीले उधुम मच्चाउन थाले ।
प्रदीपले स्टेजबाटै चलचित्रबारे जानकारी गराईरहँदा युवतीहरु स्टेज तलबाट निकै हुटिङ गरिरहेका थिए । त्यसैबीच धेरै अघिदेखि घाममा निकै चिच्याईरहेकी एक युवती बेहोस् भइन् । रोजकै स्वयमसेवक र अन्यले उनलाई स्टेजको छेउ लगे र केहीबेर पछि उनको होस आयो । यस्तै एक युवाले प्रदीपको नजिक जान नदिएको भन्दै प्रहरीमाथि नै हातपात गरे । हातपात गरेकै कारण प्रहरीले भ्यानमा राखेर उनलाई चौकी पुर्यायो । यस्तै एक युवतीले जबरजस्ती गर्दै स्टेजमै आएर प्रदीपलाई बेस्सरी अंगालीन र निकै रोइन् । यस्ता थुप्रै फ्यानहरु गोंगबूको कन्सर्टमा देखियो । चलचित्रको प्रचारका लागि हिंडिरहेको टिमले धेरै ठाउँमा यस्ता घटना बेहोर्दै आएको थियो ।
यस बिषयमा नायक प्रदीप भने दर्शकले आफूलाई भेट्न खोज्दा सकेसम्म धेरै समय दिने गरेको बताएका छन् । ‘मैले मिलेसम्म धेरे समय दिने गरेको छु, मसँग एउटा तस्बिर मात्र भएपनि खिचाउँछु भनेर लामो समय कुर्ने फ्यानहरु पनि धेरै हुनुहुन्छ, मैले इन्कार गरें भने उहाँहरुको मन दुख्छ, त्यो बुझेको छु’ प्रदीपले भने । देशब्यापी कन्सर्टमा जाँदा पनि काठमाडौंमा जस्तै बाहिर पनि थुप्रै फ्यान-दर्शक भेटेको उनले बताए । उनले मोफसलका ६ शहर पश्चात अन्तिममा काठमाडौंमा कन्सर्ट गरिएको बताए । टिमसँगै चलचित्रका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरपनि थिए ।