‘जेसुकै होस्’ पुषमा रिलिज हुने पक्का

क्वालिटी फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘जेसुकै होस्’ आगामी पुषमा रिलिज हुने पक्का भएको कुरा चलचित्रका दुई निर्देशक मध्येका एक उमेश गुरुङले जानकारी गराएका छन् l नेपालमै पहिलोपटक ९ दिनमा छायांकन सकाएर छायांकनमा नयाँ रेकर्ड बनाईएको यो  चलचित्र समाजका हरेक वर्ग, समुदाय, पेशा, धर्म र उमेर समूहका व्यक्तिहरुको आफ्नै कथा भएको कुरा समेत निर्देशक गुरुङले जानकारी गराए l वर्तमानमा म्युजिक भिडियो निर्देशक/कोरियोग्राफरको रुपमा व्यस्त रहँदै आएका गुरुङले विगतमा ठूला पर्दाका केही चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका थिए भने उनको निर्देशनमा निर्माण भएको यो पहिलो चलचित्र हो l छिट्टो शुटिंग सकाएर नयाँ रेकर्ड नै बनाएको यस चलचित्रको निर्माण समूहले रिलिजमा भने केही बढी समय लगाएको छ l ‘धेरै दर्शक तथा शुभचिन्तकहरुले चलचित्र कहिले रिलिज हुन्छ भनेर हामीलाई सोधिरहेका छन् l यसरी चलचित्रको बारेमा चासो राखिनु हाम्रो लागि खुशीको कुरा हो l प्राविधिक कामले गर्दा रिलिज केही ढिला भएको हो l अब सबैको प्रतीक्षाको घडी सकिंदै छ l आउँदो पुषबाट नेपालभर एकैसाथ हामी दर्शक समक्ष पुग्दैछौं’ निर्देशक गुरुङले बताए l
चलचित्र ‘जेसुकै होस्’ मा रोशन श्रेष्ठको पनि निर्देशन रहेको छ भने निर्देशक उमेश गुरुङकै कथा, द्वन्द्व तथा नृत्य निर्देशन रहेको छ l पटकथा/ संवाद एन. बी. अन्जानको र छायांकन मधुर बस्नेतको रहेको यस चलचित्रमा दयाराम पाण्डे, नवराज जंग थापा, कुमार बिबाहित र डी. आर. अटुको शब्दरचनामा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डी. आर. अटुले सङ्गीत दिएका छन् l गीतमा राजेशपायल राई, मिना निरौला, नवराज जंग थापा, रुपक श्रेष्ठ, मेलिना राई र सुधारत्नको स्वर सुन्न सकिन्छ l यसैगरी चलचित्रमा उमेश गुरुङ, नवराज जंग थापा, किस्मत तामांग, रोशन श्रेष्ठ, चन्दा दाहाल, रामचन्द्र अधिकारी, सोनी गुरुङ, प्रकाश जंग थापा आदि कलाकारको प्रमुख भूमिका रहेको थाहा भएको छ l सन्देशमूलक यस चलचित्रमा थिएटरका कलाकारहरु भएका कारण दर्शकले जीवन्त अभिनय हेर्न पाउने निर्माण समूहले जानकारी गराएको छ l वर्तमान अवस्थामा दुर्व्यशनमा लागेर युवावर्ग कसरी आफ्नो स्वास्थ्य र भविष्य बर्बाद पारिरहेको छ भन्ने कुरा देखाउंदै त्यसको सामाधान समेत प्रस्तुत गरिएको हुनाले ‘जेसुकै होस्’ झट्ट नाम सुन्दा नकारात्मक लागेपनि वास्तवमा यो चलचित्र सकारात्मक र सन्देशमूलक भएको कुरा निर्माण समूहले दावी गरेको छ l