ईटहरी/ कला भएर पनि आफ्नो गायन कलालाई अघि बढाउन नसकेका नव प्रतिभा सपन श्रेष्ठलाई ‘पेस्को मेकअप स्टुडियो’ ईटहरीले आर्थिक सहयोग गरेको छ । पछिल्लो समय उनको गीत रेकर्ड तथा भिडियो निर्माणको लागि केही आर्थिक अभाव भैरहेको थियो । करिब १ महिना अघिबाट युट्युबमा एक अन्तरवार्ता सार्वजनिक भएपछि उनको गायन कलाले चर्चा पाएको थियो ।
‘पेस्को’ सन्चालिका मनिता तामाङले सपनको गायन कला युट्युबमा देखेपछि ५ हजार आर्थिक सहयोग गरेकी हुन् । विगत २७ बर्षदेखि ईटहरीमा मनिताकी आमाले ‘रुपकला ब्युटी पार्लर’ संचालन गर्दै आईरहेकी छिन् । आफ्नी आमाको पेशालाई आत्मसात गर्दै पछिल्लो समय बढ्दै गएको आधुनिकीकरणलाई ख्याल गरेर मनिताले पनि केही महिना मात्र अत्याधुनिक स्टुडियो सहित ‘पेस्को’ संचालनमा ल्याएकी हुन् । हेर्नुस् सपन श्रेष्ठको पहिलो अन्तरवार्ता ।
सपनले युट्युबमा धेरैको माया पाएका छन् भने उनलाई हौसला दिनेहरु पनि दिनप्रतिदिन बढिरहेका छन् । सपनको “सुरमै जादु छ” बोलको पहिलो गीतको ट्र्याक गायक कमल खत्रीले उपलब्ध गराईसकेका छन् । हाल सपन सोही गीत रेकर्डिङको लागि तयारी गरिरहेका छन् । भिडियोको लागि ‘द मोन्टाज क्रियशन’ काठमाडौका पवन सुस्लिङले छायांकन र सम्पादनको जिम्मा लिएका थिए ।
यता भिडियोमा मोडलिङको लागि मोडल सुभम शाहले बिना पारिश्रमिक अभिनय गर्ने पक्का भएको छ भने केटी मोडल भने निश्चित हुन बाँकी नै रहेको छ । गीत रेकर्डदेखि भिडियो निर्माण सम्मको ब्यवस्था मिलाउन सुरुदेखि जुटेका डिथ्री अनलाइनका सुवास संकल्पले बाँकी केही रकम अपुग भएको जानकारी गराउंदै सो रकम उठिसकेपछि गीत रेकर्डका लागि काठमाडौ जाने र रेकर्ड पछि लगत्तै भिडियो छायांकन पनि गरेर फर्किने जानकारी गराए ।