बक्स अफिस लागू हुने निश्चित

चलचित्र क्षेत्रमा लामो समयदेखि अन्योलपूर्ण कौतुहलताको विषय बनिरहेको बक्स अफिस अन्ततः लागू हुनेभएको छ l गत फागुन १ गते थापाथलीस्थित शफ्टवेयर कम्पनी ब्रेन डिजिटलको कार्यालयमा आयोजित समारोहमा सञ्चार मन्त्री मोहन बस्नेतले ‘बक्स अफिस म्यानेजमेन्ट सिष्टम’ को औपचारिक रुपमा समुदघाटन गर्दै अब छिट्टै बक्स अफिस पूर्ण रुपमा लागू हुने बताएका छन् l ‘नेपाली सिनेमा अब मर्यादित उद्योग, व्यावसायको रुपमा अघि बढ्छ l लगानीकर्ता र कलाकार प्रोत्साहित हुने छन् र फिल्ममा आश्रित परिवारको भविष्य नराम्रो हुने छैन l हल मालिकको पनि इज्जत कायम रहने छ l’ समुदघाटन पश्चात मन्त्री बस्नेतले भने l समारोहमा चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलले बक्स अफिसको औपचारिक प्रक्रिया सुरु भईसकेको बताउँदै छिट्टै यसले पूर्णता पाउने जानकारी गराएकी छिन् l सो अवसरमा शफ्टवेयर निर्माता कम्पनीले केन्द्रीय सर्भरले कसरी काम गर्छ भन्नेबारेको भिडियो समेत प्रस्तुत गरेको थियो l

कार्यक्रमका अवसरमा चलचित्र विकाश बोर्डले बक्स अफिस लागू गर्ने सम्बन्धी चरणवद्ध कार्ययोजना सहितको प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेको छ l जस अनुसार फागुन ७ गतेभित्र काठमाण्डौ उपत्यकामा सञ्चालित ई-टिकेटिंग सिष्टम जडान भईसकेका मल्टिप्लेक्स हलहरुलाई केन्द्रीय सर्भरसंग लिंक गर्नका लागि आवश्यक पर्ने API उपलब्ध गराउन र ई-टिकेटिंग सिष्टम जडान नभएका हलहरुलाई बोर्डले उपलब्ध गराएको सूची बमोजिमका हार्डवेयर तथा नेटवर्किंग सम्बन्धी सामग्रीहरु जडान गर्नका लागि पत्राचार गर्ने योजना रहेको छ l ई-टिकेटिंग जडान भईसकेका मल्टिप्लेक्स हलहरुले चैत १५ गतेभित्र API उपलब्ध गराईसक्नुपर्ने छ भने अन्यले सोही मितिभित्र ई-टिकेटिंग सिष्टम जडान गरी बोर्डलाई जानकारी गराईसक्नुपर्ने छ l बोर्डको कार्ययोजना अनुसार ०७५ असार मसान्त सम्ममा काठमाण्डौ उपत्यकामा सञ्चालनमा रहेका सम्पूर्ण चलचित्र घरहरुमा ई-टिकेटिंग प्रणाली जडान गरी आर्थिक वर्ष ०७५/०७६ को साउन १ देखि पूर्ण रुपमा बक्स अफिस म्यानेजमेन्ट सिष्टम लागू गरिने छ l प्राप्त जानकारी अनुसार यो सिष्टम लागू भएपछि प्रत्येक सो को बक्स अफिस खुलेको २ घण्टाभित्र सम्बन्धित संस्था वा निर्माता तथा वितरकले अटो जेनेरेट ईमेल मार्फत जम्मा भएको रकमबारे जानकारी प्राप्त गर्ने छन् l सम्बन्धित निर्माता वा वितरकले बक्स अफिसको साइटमा गई आफ्नो सिनेमा चलेको हलको आइडी र पासवर्ड राखेर पनि ई-टिकटबाट सङ्कलन भएको रकमबारे थाहा पाउन सक्ने छन् l
बक्स अफिस लागू भएपछि नेपाली चलचित्रको ब्यापार पारदर्शी हुने छ भने केही बिकाऊ मिडियालाई हातमा लिएर निर्माताहरुद्वारा गरिने  नियोजित प्रपोगण्डाको पनि अन्त्य हुने निश्चित छ l बक्स अफिस खासगरी लगानीकर्ताहरुको हितमा भएकोले  नेपाली चलचित्र क्षेत्रको विकाशका लागि यो पक्कै पनि कोसेढुंगा सावित हुने छ l