बोर्डको पहिलो महिला अध्यक्षमा निकिता

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४/८/२५ को निर्णयले निकिता पौडेललाई चलचित्र बिकाश बोर्डको १३ औं अध्यक्षमा नियुक्त गरेको छ l पौडेलले २९ गतेबाटै बोर्ड अध्यक्षको पदभार ग्रहण गरेकी छिन् l स्थापनाको १७ वर्षे इतिहासमा निकिताले पहिलो महिला बोर्ड अध्यक्ष बन्ने गौरव प्राप्त गरेकी छिन् l २०५७ सालमा स्थापित चलचित्र विकाश बोर्डमा वरिष्ठ चलचित्रकर्मी यादव खरेल प्रथम बोर्ड अध्यक्षका रुपमा नियुक्त भएका थिए भने त्यसपछि निर शाह, मुकुन्द प्रसाद आचार्य, शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, शैलेश आचार्य, ईश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी, अमरराज गिरी, धर्मेन्द्र मरवैता, राजकुमार राई र रामचन्द्र ढकालले बोर्डमा अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् l गत जेठ २५ मा तत्कालिन अध्यक्ष राजकुमार राईको पदावधि सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नहुँदा केही महिनादेखि बोर्ड अध्यक्षविहिन रहेको थियो l राजनीतिक नियुक्ति हुने भएकोले यो बीचमा बोर्ड अध्यक्षका लागि चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न व्यक्तिहरु दाबेदारको रुपमा पहल गरिरहेका थिए l सरकारले खुला प्रतिस्पर्धाका लागि समेत आह्वान गरे बमोजिम १ दर्जन बढी व्यक्तिले अध्यक्ष पदका लागि आवेदन समेत दिएका थिए l जसका लागि न्युनतम स्नातक उत्तीर्ण र १० बर्ष चलचित्र क्षेत्रको प्रवर्द्धनमा योगदान दिएको व्यक्ति हुनुपर्ने मापदण्ड तोकिएको थियो l अध्यक्षविहिन भएपछि अत्यावश्यक कार्यसम्पादनमा समस्या आएकोले गत भदौ ५ गतेको मन्त्रिपरिषदको निर्णयले सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई अध्यक्ष बनाइएको थियो ll  राजकुमार राईको पदावधी सकिएको करिव ६ महिनापछि सरकारले बोर्डमा निकिता पौडेललाई आगामी २ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो l पूर्वकालमा बोर्डमा नयाँ अध्यक्ष आउँदा समर्थन र विरोध गर्नेहरु देखिंदै आए झैं यसपटक निकिताका पनि विरोधीहरु देखिएका थिए l आफ्ना नजिकका या राजनीतिक विचारधारा मिल्ने मान्छे आउँदा समर्थन गर्ने नत्र विरोध गर्ने यो क्षेत्रमा परम्परा जस्तै भईसकेको छ l तथापि निकितालाई चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न सङ्घ-संस्थाहरुले औपचारिक कार्यक्रम नै गरी स्वागत समेत गरिसकेका छन् l
निकिताका पिता उद्धव पोडेल नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता एवं व्यावसायी हुन् l पौडेल परिवारका सबैजसो सदस्यहरु लामो समयदेखि पूर्ण रुपमा चलचित्र क्षेत्रमै सक्रिय र समर्पित छन् l नेपाली चलचित्र क्षेत्रको विकाश र विस्तारका लागि यो परिवारको अतुलनीय योगदान रहेको छ l सन् २००४ मा थाइल्याण्डबाट मिडिया कम्युनिकेशनमा स्नातकोत्तर गरेकी नव नियुक्त बोर्ड अध्यक्ष निकिता गोपीकृष्ण मुभिज, गोपीकृष्ण इन्टरटेनमेन्ट र कामाख्य मिडिया एण्ड कम्युनिकेशनकी अध्यक्ष समेत हुन् भने एनएफडीसीकी कार्यकारी निर्देशक हुन् l उनले नेशनल फिल्म अवार्ड, आयोजक समितिमा अध्यक्षको भूमिका निर्वाह गरेकी छिन् l यसैगरी सन् २००४-००८ सम्म ब्रिटिश फिल्म फेष्टिभल, काठमाडौँको अध्यक्षता समेतको अनुभव छ उनीसँग l क्याम्ब्रिज अन्तर्गत ब्रिटिश काउन्सिलबाट ‘ओ लेभल’ र भारतबाट ‘ए लेभल’ गरेकी उनी मास कम्युनिकेशनकी लेक्चरर समेत हुन् l चलचित्रकर्मसँग जन्मजात नै जोडिएकी र त्यही सेरोफेरोमा हुर्किएकी चलचित्र बिकाश बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलबाट यस क्षेत्रले स्वाभाविकै रुपमा धेरै अपेक्षा गरेको छ l