-डा. डी. आर. उपाध्याय खनाल
संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ उक्त पदका लागि उम्मेदवार बन्नु भएको थियो । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनु खुसीको कुरा हो । राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति हुनु भनेको देशको इज्जत बढनु हो ।
राजनीतिक योगदानको हिसाबले राम चन्द्र पौडेल मुलुकको सर्वोच्च पदमा पुग्नु मुलुकका लागी राम्रो कुरा हो । स्वच्छ छवि हुनुभएका पौडेलको मूल्यांकन अब हुने छ । उहाँले राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा कस्तो भूमिका खेल्दै जानु हुन्छ त्यो भने हेर्न बाँकी छ । गणतन्त्रलाई संस्थागत गरेर अघि बढनु पर्ने बेला भएको छ । यति बेला केही तत्वहरु गणतन्त्र बिरोधी नारा लगाउँदै पनि हिडेको सुनिन्छ । यस्ता गतिबिधि प्रति सचेत र सजग बन्नु पर्ने छ ।
आज देशमा राष्ट्रपतिले प्रमुख भूमिका खेल्नु पर्ने देखिन्छ । अढाई सय वर्ष लामो राजतन्त्रलाई मासेर गणतन्त्र ल्याएको कुरालाई कसैले भुल्नु हुदैन । परिवर्तनका पक्षधर शक्तिहरू जुटेर अघि बढनु पर्ने बेला पनि आएको छ । राजनीतिक दलहरुले बाटो बिराउनु हुदैन । प्रतिगामी शक्तिहरू सलबलाइरहेका छन । यो बेला राष्ट्रपति संस्था निर्विवाद एवं निष्पक्ष ढंगले खरो उत्रन आवश्यक छ । पौडेलसामु नयाँ संविधानको सफल कार्यान्वयन गर्न/गराउन अभिभावकीय भूमिका खेल्नुपर्ने ऐतिहासिक दायित्व छ । उहाँले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्नु पर्छ ।
नेपालमा गणतन्त्र नेपाली जनताको लामो त्याग, तपस्या, संघर्ष र बलिदानबाट स्थापित भएको हो । गणतन्त्र स्थापनाका लागि नेपाली जनताले ठूलो बदिानी गरेका छन । माओवादीको १० वर्षे जनयुद्ध पनि मूल आधार बन्न पुगेको छ । यो कुरालाई सबैले स्वीकार्न सक्नु पर्छ । माओवादी र ७ दलसहित नेपाली जनताको १९ दिने जनआन्दोलनले ठूलो आँधी बेहेरी ल्याउँदा पुर्व राजाले घुँडा टेक्न बाध्य हुनु परेको थियो । र देशमा गणतन्त्र आएको हो । संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेको झण्डै डेढ दशक पुग्न थालि सकेको छ ।
नव निर्वाचित राष्ट्रपति राम चन्द्र पौडेलले आमनेपालीको मनोभाव बुझेर काम गर्नु हुन्छ भन्ने धेरैले आशा गरेका पनि छन । राष्ट्रपति राष्ट्रकै गहना हो । सबैको अभिभावक हो । अब राष्ट्रपति व्यक्ति नभएर संस्था बन्न सक्नुपर्छ । विगतमा किन विवादित बनाइयो यो संस्था ? कतै हाम्रा राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेकै हो त ?