-तुलसी गिरी ‘भावुक’
पृष्ठभूमि:
सन् २००५, फेब्रुअरी १४ मा अमेरिकाका Chad Hurley, Steve Chen र Jawed Karim ले साझेदारी प्लेटफर्मको रूपमा YouTube को स्थापना गरेका थिए । तथापि उनीहरुले त्यो बेला YouTube यति बृहत् रुपमा अगाडि बढ्छ र यति धेरै लोकप्रिय हुन्छ भन्ने कुरा कल्पना गरेका थिएनन् l YouTube को स्थापना हुनु अघि विश्वव्यापी रुपमा भिडिओ साझेदारी गर्न सकिने अन्य कुनै प्लेटफर्महरू थिएनन् । त्यसकारण चाड हर्ली, स्टीभ चेन र जावेद करिमले एक वेबसाइट सिर्जना गर्ने योजना बनाएका थिए l जहाँबाट व्यक्तिहरूले आफ्ना श्रव्यदृश्य सामग्रीहरु साझा गर्न सकुन् ।
Youtube मा पहिलोपटक अप्रिल २३, २००५ मा संस्थापकहरुद्वारा ‘मी एट द जु’ शीर्षकको भिडिओ अपलोड गरिएको थियो l जसले एक महिनामै ११.५ मिलियन डलर कमाएको थियो l स्थापनाको १८ महिनापछि ९ अक्टोबर, २००६ मा Google ले यसलाई १.६५ बिलियन डलरमा अधिग्रहण गरेको हो l YouTube मा अहिले २.४९ बिलियन भन्दा बढी मानिसहरु सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । विश्व जनसंख्याको एक तिहाइ भन्दा बढीले र इन्टरनेटसँग जोडिएका विश्वव्यापी जनसंख्याको ४७ प्रतिशतले YouTube चलाउने गरेको कुरा लगभग एकवर्ष अघिको अध्ययनले देखाएको थियो भने हरेक मिनेट YouTube मा ६०० घण्टा भन्दा बढी भिडिओ अपलोड हुने गरेको छ । श्रव्यदृश्य डिजिटल प्लेटफर्महरु मध्ये YouTube लाई उछिन्ने कुनै प्लेटफर्म अहिलेसम्म आएको छैन l
अवसर:
श्रव्यदृश्य डिजिटल प्लेटफर्म युट्युव आएपछि खासगरी सङ्गीत, चलचित्र एवं अन्य प्रकारका व्यावसायिक श्रव्यदृश्य सामग्री निर्माण/उत्पादन गर्नेहरुका लागि अथाह अवसरको ढोका खुल्यो l युट्युवको माध्यमबाट यस्ता सामग्रीले नि:शुल्क रुपमा क्षणभरमै विश्वव्यापी पहुँच बनाउन थाले l क्यासेट/सीडीमा जस्तो भूगोलको सिमा, उत्पादन लागत, निर्यातका खर्चालु र झन्झटपूर्ण प्रावधानहरु स्वत: हटे l श्रव्य एवं श्रव्यदृश्य सामग्रीको व्यावसायमा नयाँ युगको सुरुआत भयो l यस्ता डिजिटल प्लेटफर्मका कारण एकपटक उत्पादित वस्तु लाखौँ, करोडौंपटक विक्री गर्दा पनि पुनरुत्पादन गर्नु नपर्ने भएपछि स्टकको जोखिमबाट पनि उत्पादक/विक्रेताहरुले राहत पाए l
कुनै समय थियो काठमाण्डौ उपत्यका बाहिरबाट कलाकार बन्ने सपना बोकेर आएका कैयौं प्रतिभाहरु रेडियो नेपालको रेकर्डिङ् स्टुडियो समेत नदेखी घर फर्कन बाध्य हुन्थे l सिंहदरबार प्रवेश गर्नु जो कोहीको पहुँचमा थिएन l प्रवेश पास मिलाउन समेत जागिर नै मिलाए झैं सोर्सफोर्स र सिफारिस चाहिन्थ्यो l गीत रेकर्ड गर्नु त धेरै परको कुरा भयो नाम चलेको एउटा कलाकारलाई प्रत्यक्ष भेट्न समेत महिनौं लाग्थ्यो, त्यो पनि कोही मध्यस्तकर्ता फेला पर्यो भने मात्र सम्भव थियो l जुत्ता चप्पल फाट्थे, खर्च सकिन्थ्यो तर गीत कसरी रेकर्ड हुन्छ ? भन्ने समेत थाहा नपाई निराश भएर घर फर्कन्थे त्यो बेला गायक/गायिका बन्ने सपना बोकेर राजधानी प्रवेश गरेका धेरैजसो प्रतिभाहरु l उपयुक्त मार्गनिर्देशन र अवसर नपाएका तर तारादेवी, कोईलीदेवी, अञ्जु पन्त, विष्णु माझी, नारायणगोपाल, भक्तराज आचार्य र शम्भुजीत बासकोटा झैं उचाई लिन सक्ने क्षमता भएका कति प्रतिभाहरु गाउँमै गुमनाम भए होलान् त्यो बेला, अनुमान गर्न सकिन्न l
युट्युबका कारण अहिले अवस्था फेरिएको छ l डीएसएलआर क्यामेरा र बुम बोकेर एउटा युट्युबर गाउँ पस्छ l डोकोमा घाँस बोकेर घर फर्कंदैगरेकी चमेली वा चौतारोमा दाउराको भारी बिसाएर पसिना पुछ्दैगरेको हर्केको अन्तर्वार्ता लिन्छ l बेलुका युट्युबमा भिडिओ अपलोड हुन्छ, रातभरिमा उनीहरुलाई लाखौँले हेर्छन्, चिन्छन् l भोलिपल्ट राजधानीबाट एउटा सङ्गीतकर्मी गाउँ पुग्छ र चमेली/हर्केलाई टपक्क टिपेर शहर ल्याउँछ l पर्सीपल्ट चमेली/हर्केको स्वरमा गीत रेकर्ड हुन्छ, अर्को दिन उनीहरु ‘भाइरल’ हुन्छन् l माथि भनिए झैं गीत-सङ्गीत तथा चलचित्र क्षेत्रमा अनगिन्ति कलाकार युट्युबकै कारण बिना सङ्घर्ष रातारात स्थापित भएका छन् l जसमध्ये धेरैजसो व्यावसायिक रुपमा समेत सफल छन् l गीत-सङ्गीत मात्र होइन, युट्युब सामग्रीका अनगिन्ती विधाहरु छन् l यो अर्को सुन्दर पक्ष हो, विधाको कुनै पावन्दी छैन l जसमा कुनैपनि विषयको ज्ञान, सिप र क्षमताको प्रदर्शन गरी अथाह नाम र दाम आर्जन गर्न सकिन्छ l नेपालमा पनि के गाउँ के शहर लाखौँ युवाले युट्युबलाई आफ्नो व्यावसायको माध्यम बनाएका छन् l
युट्युबको स्थापना भएपछि सबैभन्दा बढी सङ्गीत र चलचित्रको क्षेत्रमा क्रान्तिमय परिवर्तन आएको छ l भिजन भएका, मेहेनती र कला भएकाहरुले युट्युबलाई नै माध्यम बनाएर अकल्पनीय रुपमा नाम र दाम कमाएका छन् l हिजोसम्म आफ्नो सेवा तथा उत्पादनको जानकारी टेलिभिजनबाट प्रसारण गर्दा लाखौँ रुपैया खर्च गर्नुपर्थ्यो भने त्यसको ठीक विपरित अहिले प्रसारण नि:शुल्क त छँदै छ, त्यस्ता सामग्री/सूचना आमदानीको श्रोत समेत बन्न पुगेका छन् l शुल्क लिएर टेलिभिजनहरुले प्रसारण गर्ने त्यस्ता सामग्री प्रसारण भईरहेको समयमा मात्र हेर्न/सुन्न सकिन्थ्यो भने युट्युब आएपछि आफूलाई मन लागेको बेला हेर्न/सुन्न सकिन्छ l टेलिभिजनको प्रसारण क्षमताको सिमा निश्चित थियो, तर युट्युब संसारको कुनै पनि कुनामा बसेर हेर्न सकिन्छ l
युट्युबले समाजलाई सुसूचित गराउनका लागि अहम् भूमिका निर्वाह गरेको छ l मानिसहरुले सिप, ज्ञान, विचार, कला, सूचना, घटना लगायतका कुराहरु युट्युब मार्फत सहजै र निर्वाध जनसमुदायमा पुर्याएर समाजलाई अनेक दृष्टिकोणबाट समुन्नत बनाएका छन् l अहिले संसारभरका मानिसहरु छोटो समयमै सानो भन्दा सानो घटनाको बारेमा जानकार हुनु र सामान्य मानिसमा समेत विश्लेषणात्मक क्षमताको विकाश हुनुमा युट्युब लगायतका सामाजिक सञ्जालकै महत्वपूर्ण भूमिका छ भन्दा अतिशयोक्ति नहोला l युट्युबमा सबैको समान पहुँच भएको कारण जतिसुकै पैसा वा पावर भएपनि गलत कुरा स्थापित गर्न कसैलाई पनि सम्भव छैन l
चुनौती:
अचानक चर्चामा आएकाहरुका कारण ‘भाइरल’ शब्द ‘हिट’ भए झैं आजकल समाजमा अर्को एउटा शब्द पनि ‘हिट’ छ- ‘युट्युबे’ l डीएसएलआर क्यामेरा र बुम बोकेर हिँड्नेहरु आजकल ‘युट्युबे’ को नामले कुख्यात पनि छन् भन्ने कुरा धेरैलाई थाहा भएकै हो l पहिला पहिला डीएसएलआरको अगाडि उभिएर बोल्न पाउँदा जो कोही दङ्ग पर्दथे l आजकल त्यस्ता क्यामेरा बोक्नेहरुलाई देखेपछि मान्छे तर्सिन थालेका छन् l कतिपय ठाउँबाट लखेटिएको र धेरै ठाउँमा उनीहरुले दुर्व्यबहारको सामना गर्नुपरेका कुरा समेत सुन्नमा आईरहन्छन् l यो भएकै कुरा हो l सम्मानपूर्वक ‘युट्युबर’ भन्नेहरुले नै बिना कारण अपमानजनक ढङ्गमा ‘युट्युबे’ भन्न थालेको चाहिँ हुँदै हैन l अपलोड हुने सामग्रीको त कुरै छाडौं डलरको लागि युट्युबरहरु थम्ब्नेलमै यति निर्लज्ज र बदनियतपूर्ण हेडलाइन राख्छन् कि मानौं संसारमा कहिल्यै नघटेको घटना घट्यो, जसको पर्दाफास उनीहरु गर्दैछन् l गुदी कुहिएको भए पनि बोक्रा चम्किलो बनाउने उनीहरुको एकमात्र नियत हुन्छ l जथाभावी बोल्ने ‘भेलु बाजे’ र ‘अघोरी बाबा’ जस्ता व्यक्तिलाई ‘सुपर हिरो’ बनाउने हाम्रा ‘युट्युबर’ ले केका लागि हो युट्युब कर्म ? छातीमा हात राखेर आत्मसमीक्षा गर्ने बेला भएन र ?
कुनै समय यस्तो थियो, मिडियाकर्मीहरु जिम्मेवार र जवाफदेही हुन्थे भने मिडियामा आएका कुरालाई आम मान्छेहरुले नि:सन्देह विश्वास गर्थे l यहाँ आज सबै सञ्चारकर्मी गैर जिम्मेवार छन् भन्न खोजिएको चाहिँ होइन l तथापि आजको अवस्था केही फरक छ l जब युट्युब जस्तो विश्वव्यापी पहुँच भएको व्यावसायिक प्लेटफर्म आयो तब एकपछि अर्को गर्दै लाखौँ नेपाली युवा पनि स्वाभाविक रुपले यसप्रति आकर्षित भए र भिडिओ निर्माण गर्न थाले l ‘युट्युब’ सञ्चारको एउटा सशक्त माध्यम हो l अझ भनौं पहुँचको दृष्टिकोणले हेर्ने हो भने त पत्रपत्रिका र रेडियो टेलिभिजन भन्दा युट्युब लगायतका सामाजिक सञ्जाल कैयौं गुणा बढी शक्तिशाली मिडिया हुन् l त्यसकारण यस्ता प्लेटफर्ममा पोष्ट हुने सामग्रीप्रति जो कोही अझ बढी संवेदनशील हुनुपर्छ भन्ने कुरामा कसैको पनि मत नबाझिएला l
शुल्क नलाग्ने, दर्ता/नवीकरण गर्नु नपर्ने, एकेडेमिक योग्यताको मापदण्ड नचाहिने, आफ्नो च्यानलमा राखिने भिडिओको सेन्सर गर्नु नपर्ने, उजुरी नै नपर्दासम्म जे जस्ता सामग्री राखेपनि जवाफदेही हुनु नपर्ने, सामग्री जस्ता भए पनि ‘भ्युज’ को आधारमा डलर आउने र कतैबाट प्रभावकारी नियमन नहुने भएपछि धेरैजसो युट्युबरहरुले यो स्वतन्त्रताको दुरुपयोग गरिरहेका छन् l केही अपवादलाई छाडेर आफूलाई पत्रकार भन्न अलिकति पनि नहिच्किचाउने डीएसएलआरधारीहरुले आचार संहिताको धज्जी नै उडाएका छन् l हातमा बुम बोकेर जतिसुकैबेला जहाँ पनि पस्ने र अपराधीलाई झैं अशिष्ट शैलीमा जो कोहीलाई केरकार गर्ने प्रवृत्तिले गर्दा पनि युट्युबरप्रति धेरै मान्छे असन्तुष्ट छन् l युट्युबरकै कारण प्रहरीको अनुसन्धान प्रभावित हुने गरेको र गलत सूचना/समाचार वा धारणा प्रसारण भएका कारण समाजमा अफवाह फैलने गरेको कुरा सबैलाई थाहा नै छ l ह*त्या र बला*त्कार जस्ता जघन्य एवं संवेदनशील घटनामा समेत प्रतिस्पर्धात्मक रुपमा युट्युबरहरुको आफैं अनुसन्धाता र न्यायधिश बन्ने साथै घण्टा घण्टामा ‘नयाँ खुलासा’ भन्दै भिडिओ अपलोड गर्ने प्रवृत्तिले गर्दा समाजमा भ्रम सिर्जना भएका र अनावश्यक उत्तेजना फैलिएका उदाहरणहरु धेरै छन् l सानोभन्दा सानो घटनालाई गिजोल्ने, आतङ्क र भय सिर्जना गर्ने, बकम्फुसे विषय र व्यक्तिलाई बढावा दिने, तिललाई पहाड बनाउने, काल्पनिक कथा निर्माण गर्ने, नकारात्मकता र अश्लिलतालाई प्राथमिकतामा राख्ने आदि कारणले गर्दा आम जनताले सञ्चार क्षेत्रप्रति गर्ने विश्वास र सञ्चारकर्मीको प्रतिष्ठा गुम्दै गएको छ l फगत ‘भ्युज’ कै लागि ‘भाइरल’ बनाइएका व्यक्तिहरुबाट समाजले पाउने मननीय कुरा त केही हुन्न नै, छोटो समयमै गुमनाम हुनुपर्दा उनीहरुलाई सामान्य जीवनमा फर्कन समेत समस्या भएका उदाहरण पनि धेरै छन् l
युट्युबमा सेन्सर लाउनुपर्छ वा यसमा कडाई गरिनुपर्छ भन्ने यो लेखको आशय पक्कै होइन l तथापि कतिपय युट्युबरहरुको गैर जिम्मेवार प्रवृत्ति आज चुनौतीको रुपमा देखा पर्न थालेकोले बेलैमा उनीहरुलाई सचेत गराउँदै जवाफदेही र जिम्मेवार बनाउन भने आवश्यक भैसकेको छ l
*साभार: (प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन ‘संहिता’, चैत, २०८०, अङ्क ६०)