–ड़ा. डीआर उपाध्याय
यो देशको उन्नति, प्रगति के कसरी गर्ने भन्ने चिन्तन मनन सवैको हुन जरुरी छ । सत्ता स्वार्थ र राजनीतिक दाउपेजले मुलुक अघि बढाउन सकिदैन । अहिले देशमा जुन किसिमको राजनीतिक गतिविधि चलिरहेको छ, त्यसमा जनताको पूर्णरुपमा सन्तुष्टि छैन । देशको भाग्य र भविश्य निर्माणका लागि सवै जुट्नुपर्ने बेला हो यो । पार्टीभित्रको आन्तरिक विवादले देश सोचे अनुसार अघि बढ्न नसकेको यथार्थ हो । संसद अवरुद्ध छ l जनताका समस्या उठाउने थलो नै अवरुद्ध हुँदा जनसरोकारका बिषय ओझेलमा परेका छन् । आज देश बिषम परिस्थितीवाट गुज्रिरहेको छ । जनताका समस्या दिन प्रतिदिन बढ्दै गएका छन् । जनतालाई एक छाक खान समस्या भैरहेको छ । महंगीले आकाश छोएको छ । बजार भाउ छोइसक्नु छैन । देशमा पटक पटक राजनीतिक परिवर्तन त भयो तर जनताको जीवनमा परिवर्तन आउन सकेन । राजनीतिक परिर्वतनका लागि जनताको त्याग, तपस्या र वलिदान भएको थियो । त्यो कुरा दलका नेताहरुले बिर्सिदै गएका छन् । राजनीतिक दल र तिनका नेताहरु आफनो ब्यक्तिगत स्वार्थ बाहेक अरु केही सोचेनन् । समस्या यो हो ।
हिजोसम्म राम्रोसँग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु अहिले रातारात खर्वपति बनेका छन् । राजनीतिको नाममा ब्यापार भएको छ । यसरी देश बन्दैन । देश बनाउन त्याग, तपस्या र दुरदर्शी नेताको आवश्यकता हुन्छ । कुनैपनि ब्यक्तिगत स्वार्थ नभएको नेताले मात्र देश बनाउँछ । स्वार्थी नेताले देश वनाउन सक्दैनन् । आज हरेक पार्टीका कार्यकर्ताहरु निरीह छन् । नेताले जे भन्यो त्यो मान्न तयार छन् । पुराना पुस्ताका नेताहरु ज्यान जाला आफनो पद छोडन तयार छैनन् । युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न कुनै पार्टी तयार छैनन् । यो हरेक पार्टीमा देखिएको रोग हो । युवा नेताहरु खुलेर शीर्ष नेताको आलोचना गर्न सक्दैनन् ।
लोकतन्त्रमा छलफल आलोचना गर्न पाइन्छ । पार्टीलाई सत्मार्गमा हिँडाउने भनेको युवाहरुले हो । अव अहंकारको राजनीतिले कसैलाई फाइदा गदैन । अव दलहरु सुध्रिनु पर्छ । नेताले जे गरे पनि अन्धभक्त भई स्विकार्ने काम युवा नेताहरुले गर्नु हुँदैन । कार्यकर्ताहरु दल र तिनका नेताहरुको अन्धभक्त हुनु हुँदैन । नेताका गलत कदमविरुद्ध बोल्न सक्नु पर्छ । जे गरे पनि ठीक हो भन्दै पछि लाग्नु राम्रो होइन ।
हरेक पार्टीका कार्यकर्ताहरुको आफ्नै पीडा छ । त्यो पीडा नभएको होइन । नेतावाट अपहेलित हुनुपर्ने अवस्था पनि छ । तल्लो तहका कार्यकर्ताले दैनिक रूपमा जनताका सुखदुःखमा साथ दिइरहेका पनि छन् । जनताका समस्यालाई सरकारसमक्ष र सरकारका योजना कार्यक्रम जनतासमक्ष राख्नेगरी सरकार र जनताबीच पुलको काम पनि त्यही तल्लो तहका नेता कार्यकर्ताले गरिरहेका छन् । तर, नेताहरू महत्व दिँदैनन् । ती जनताका समस्याहरु प्राथमिकतामा पर्दैनन् अनि निराश भएर गाउँ फर्किन्छन् l तर कार्यकर्तामा भएको यो इमानदारितालाई नेताहरुले सम्मान गर्न सिक्नु पर्छ । चाकडीले पद, प्रतिष्ठा मिल्ने परिपाटी पार्टीमा झांगिदै गएको छ । यस्तो परिपाटीमा सुधार हुनु जरुरी छ । जो इमानदार नेता कार्यकर्ता छन् तिनीहरु लाभको राजनीतिमा पछि छन् । त्यसले गर्दा नेताका गलत कदमविरुद्ध बोल्ने साहस गदैनन् । तर, सबै कार्यकर्ता यसरी नै चुप लागेर बसेका छैनन् । जो निष्ठावान् इमानदार देशभक्त छन्, उनीहरू सशक्त रूपले खबरदारी गरिरहेका छन् । अहिले प्रतिनिधिसभा पुनःस्थापना भएर राजनीतिले एउटा गति लिएपनि संसद्ले उपयुक्त बिजनेस अनुसार कामगर्न पाइरहेको छैन । संसदीय मर्यादा गुमाइरहेका छन् ।