-डा. डीआर उपाध्याय
होली एक रङ्गीन पर्व हो । यसदिन सारा मानिस आफनो पुरानो गुनासा साथै शत्रुगत व्यवहार बिर्सेर एक आपसमा मित्रवत् व्यवहार गरी खुसी साटासाट गर्ने प्रचलन रहेको छ । यस पर्वमा एक अर्कोलाई अबिर लगाउँछन् । आजभोलि यस पर्वमा मानिसहरुले पानी र अबिर छ्याप्ने चलन पनि रहेको छ । बच्चाहरु खेलौना बन्दुकमा पानी भरि एक आपसमा छ्र्यापी विभिन्न रङ्गहरु लगाई रमाउने गर्दछन् । यो पर्व विशेष गरेर हिमाली र पहाडी भेगमा आज मनाइन्छ भने तराइ भेगमा त्यसको भोलिपल्ट धुमधामका साथ मनाउने गरिन्छ । नेपाल सरकारले यस पर्व मनाउनको लागि सार्वजानिक विदा दिएको छ ।
गतवर्ष र यस वर्ष कोरोनाको प्रभावले गर्दा होली पर्व त्यति उत्साहजनक रुपमा मनाउन पाइएको छैन । कोरोनाको कारण विगतवर्ष र यसवर्ष पनि होली पर्व घरमै सिमित बनेको छ । हो विश्वव्यापी फैलिएको कोरोनासँग हेलचेक्राई नगरी एक आपसमा सुरक्षित रही घरमै बसी मनाउनु उपयुक्त हुन्छ । फाल्गुन महिनाको पुर्णिमामा यो पर्व मनाउने गरिन्छ । यो पर्व ठाउँ अनुसार फरक फरक किसिमले मनाउने गरिन्छ । ‘होली’ हर्ष र उमङ्गको पर्व हो । यो नेपालको साँस्कृतिक पर्व हो । फागु वा होली उमङ्ग, भ्रातृत्व पवित्रता र मेलमिलापको पर्व हो । नेपाली संस्कृतिको संरक्षण गर्नको लागि यो पर्वको विशेष महत्व रहँदै आएको छ । आजभोलि यो पर्व मनाउने क्रममा समाजमा विकृति फैलिदै गएको छ । यस्ता विकृतिलाई रोक्न नेपाल सरकारका साथै तपाई हामी आ-आफ्नो ठाउँबाट लाग्नु पर्छ ।
होलीलाई आजभोलि सामाजिक उत्सवका रूपमा मनाउन थालिएको छ । यो पर्वको विभिन्न पाटो छ । नाच, गान, खानपान र मनोरञ्जनसँगै यो पर्व भेदभाव, छुवाछूत र वर्ण व्यवस्थाको वास्ता नगरी सद्भाव र मेलमिलाप बढाउने पर्व हो । पर्वतीय समुदायका लागि मीठो खाने, राम्रो लगाउने र स्वच्छन्द हुने पर्वका रूपमा लिइन्छ । तराईका मानिसमा मीठो खाने र आत्मीयजन लिएर समाजको शत्रु नै किन नहोस्, सबैजनासँग प्रेम र सद्भावले मिल्ने पर्वका रूपमा लिइन्छ । पहाडी क्षेत्रमा मासु परिकार विशेष रूपमा खाइन्छ । तराईमा पुवा, मैदा र चिनीको विशेष पकवान मालपुआ, तरुवा र मासुजस्ता विशेष परिकार पकाएर सबैलाई खुवाउने चलन छ । यो पर्व सामूहिकताको पर्व हो । समूहमा मनाउने पर्व हो तर कोरोना महामारीले यसमा अवरोध ल्याएको छ । घर-आँगन, चोक, चौरमा उत्साहपूर्वक मनाइने पर्वमा मानिस घरभित्रै थुनिएर बस्न बाध्य भइएको छ ।
होली पर्वमा रङ्गको विशेष सम्बन्ध छ । होलीको विविध रङ्गजस्तै जीवन पनि रङ्गीन छ । रङ्गले दुनियाँलाई रङ्गीन बनाएको छ । होली रङ्गको मिलन पर्व हो । होली पर्वको परम्परागत ढङ्गले मनाउनका लागि टोल र समुदायका पुरुष, महिला, केटाकेटी भेला भई हार्दिक रूपले गाउँदै, नाच्दै आपसमा रङ्ग तथा अबिर एक-अर्कोलाई छ्याप्दै रमाइलो गर्ने दिन हो । होलीको नाममा गाँजा, भाङ, चरेशको खुलेआम सेवन गर्ने प्रवृत्ति बढिरहेको छ । मादकपदार्थ सेवन गरेर झै-झगडा गर्ने, जबरजस्ती महिलालाई अबिर लगाइदिने, फोहोर पानी भरिएका लोलाले जथाभावी हान्ने गरिन्छ । यो गलत प्रवृति हो । यस्ता क्रियाकलाप रोक्नु पर्छ । होली पर्वले सद्भाव र मेलमिलापको सन्देश बोकेको छ । सद्भाव र उमङ्गको पर्व होली, होली नै रहोस् l यसमा विकृति र विसङ्गति आउन दिनु हुँदैन । आफ्नो संस्कृति जोगाउनका लागि सवै सचेत हुनुपर्छ । आज सबैजना आ-आफनै घरमा बसी आफ्नै परिवारभित्रै होली मनाउनुहोस् र कोरोनाबाट जोगिनुहोस् । यहि छ मेरो शुभकामना ।