-डा. डीआर उपाध्याय
अहिले मुलुक फेरि राजनीतिक अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता छ । लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्तिहरुका बिच सहकार्यको जरुरी देखिएको छ । सत्ताधारी दलबीचकै आन्तरिक किचलोका कारण अचानक संसद् विघटन भयो । त्यसले समग्र मुलुकलाई क्षति पु¥याएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गलाई असर परेको छ । लामो समय लकडाउन झेलेर आर्थिक रूपले थिलथिलो भएका गरिखाने मजदुर वर्गले फेरि राजनीतिक अस्थिरताको मार झेल्नुपर्ने अवस्था सृजना भएको छ ।
कम्युनिष्टहरुले सर्वहारा श्रमिक वर्गको मुक्तिको लागि भन्दै राजनीति गरे । त्यही विश्वासको आधारमा सबै गरिखाने अधिकांश मजदुर वर्गले कम्युनिस्टलाई सहयोग गरेरै बहुमत दिएका हुन् । तर ती श्रमिक मजदुरले आजसम्म कम्युनिस्ट सरकारबाट के पाए ? सर्वसाधारण वा मजदुर वर्ग सबैले अब अस्थिरताको राजनीति अन्त्य होस् र पूर्ण पाँच वर्ष सरकार चलाओस भनेरै कम्युनिस्टलाई भोट हालेका हुन् । तर जनताले सोचे बमोजिम कम्युनिष्ट सरकारले स्थिरता दिन सकेन ।
राजनीतिक अस्थिरता निम्तिनुमा केपी ओली मात्र दोषीको भागीदार छैनन् । यो अवस्था ल्याउनमा समग्र नेकपाका नेताहरू पनि दोषका भागीदार हुन् । यो समस्यामा ओलीलाई मात्र दोष देखाएर प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन । कम्युनिष्टलाई जनताले पूर्ण अवधि राज्यसत्ता सञ्चालनका लागि झन्डै दुईतिहाइ बहुमतको सरकार दिएका हुन्। तर उनीहरुले अल्पायुमै सरकार ढालेर अस्थिरताको बीउ रोपे । यो नेपाली जनतालाई स्वीकार्य कुरा होइन । के फेरि मध्यावधि चुनाव गरेर अर्बौं रुपैयाँ स्वाहा पार्न जनताले उनीहरुलाई मत दिएका हुन् त ? चुनावका लागि खर्च हुने अर्बौँ रुपैयाँको भार नेपाली जनताको टाउकामै थोपरिने हो ।
अहिलेको युवा पुस्ता राजनीतिप्रति त्यति आकर्षित छैनन् । युवापुस्तालाई सरकारप्रतिको वितृष्णा मात्र नभइ पद्धतिप्रति नै वितृष्णा बढ्न थालेको देखिन्छ । अब राजनीतिक दल र तिनका नेताहरू यो विषयमा सचेत हुन जरुरी छ । अब दलहरु विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । दलहरु फुटेर होइन जुटेर मात्र लोकतन्त्र बलियो हुन्छ । अहिले नेकपाका दुई समूह बिच जुन किसिमका गतिविधि भैरहेका छन् त्यसले लोकतन्त्रलाई कमजोर पार्ने देखिन्छ ।