कलाकार एन्जीला व्यवसायमा सफलता बटुल्दै

एन्जीला गौतम नेपाली मनोरञ्जन उद्योगका लागि नौलो नाम होइन । पद्मकन्या क्याम्पस पढ्ने क्रममा त्यसताकाको चर्चित नाट्य समूह ‘प्रतिभा कला मन्दिर’ जाने क्रमले निरन्तरता पाएको थियो र एन्जीलालाई रङ्गमञ्च र मनोरञ्जन उद्योगले थप आकर्षित गर्दे लगेको उनी बताउँछिन् । त्यसै क्रममा २०५५ सालमा प्रतिभा कला मन्दिरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी हुने मौका पाएपछि उनको कालायात्रा सुरु भएको थियो । त्यसताका मनोरञ्जन उद्योगमै लागेर जीवन यापन गर्न सम्भव नभए पनि एन्जीलाले भने निरन्तता दिइन् । उनले तुलसी घिमिरेको देउता लगायतका चलचित्रमा अभिनय क्षमता प्रदर्शन गरिन् । त्यसपछि लगातार नेपाल टेलिभिजनबाट प्रसारित विमान चालक लगायत दिनेश डी.सी र दीपकराज गिरीको निर्देशनमा बनेका टेलि चलचित्रहरूमा अभिनय गर्न मौका पाइन् ।

आज एन्जीला कलाकारिता र फेसन सो आयोजना गर्दे गार्मेन्ट व्यवसायमा संलग्न भएकी छिन् । यो पेशा मात्र एक लाख रुपैंयाको झिनो लगानीबाट सुरु भएको थियो । लेडिज फेसनेवल गार्मेन्ट उद्योग सञ्चालनलाई पेसा बनाउँदै उनले एरीका कलेक्सन पनि सञ्चालनमा ल्याएको पाँच वर्ष बितिसकेको छ । अहिले यो व्यावसायमा एकल महिला एन्जीलाको बीसौ लाख रुपैंया लगानी भैसकेको छ भने पाँच महिलालाई प्रत्यक्ष रोजगारी दिन समेत उनी सफल भएकी छिन् । फेसन डिजाइन एन्जीलाको शोक हो । यसअघि विभिन्न फेसन सो आयोजना गर्ने क्रममा यिनलाई फेसन डिनाईनमा अभिरुचि जागेको हो । त्यसलाई थप व्यावसायिक रूपमा नयाँ साजसज्जा सहित उनी धुम्बाराहीमा ‘एरिका बुटिक’ सञ्चानमा ल्याउन सफल भएकी हुन् ।

कला र सङ्गीत औधी मन पराउने एन्जीलाको साङ्गीतिक यात्रा त्यतिखेर सुरु भयो जब उनी एक साथीको गीति एलबम उत्पादनमा सहयोगी बन्दै निर्माता सम्म बनेकी थिईन् । त्यसै क्रममा उनी नेपालमा पहिलोपटक ‘प्यारोमोनिया’ नामक अङ्ग्रेजी गीति एलबम बजारमा ल्याउन सफल भएकी हुन् । एन्जिला अङ्ग्रेजी श्रोतामाझ उच्च लोकप्रियता हासील गर्दै विलव्र्ड – भाग १ र २ त्यस्तै क्याटमाण्डु, निष्ठा (नेपाली) लगायतका एलबम र म्युजिक भिडियो उत्पादन गरी बजारमा ल्याउन सफल हुँदै फेसन– सो आयोजना तर्फ आकर्षित हुँदै गएकी थिईन् ।

एन्जीला भन्छिन् – ‘व्यापारमा सफलता पाउन मेहनत र एकाग्रता चाहिन्छ । यही कुरालाई आत्मसात गर्दे एरीका कलेक्सन र एरीका बुटिक सञ्चालनमा ल्याएकी छु । यसले ग्राहकलाई रोजे जस्तो डिजाइनका फेसनेवल ड्रेस लगाउन सहयोग पुर्याउंदैआएको छ । तर विदेशबाट आयातित सामान भन्सार जाँच पासमा कर्मचारीहरूले धेरै दु:ख दिने गरेका छन् l सरकारले महिलाद्वारा सञ्चालन भएका यस्ता उद्योग-व्यवसायलाई सहयोग गर्नुपर्ने ठाउँमा उल्टो निरुत्साहित गर्ने गरेको छ ।’ व्यवसायमा सोचे जस्तो सफलता मिले सहरका अन्य स्थानमा पनि यस्तै बुटिक सञ्चालन गर्ने योजना बनाएकी एन्जीलालाई अझै म्युजिक भिडियो र गीति एलबम बनाउने रहर मरेको छैन ।