–डा. डीआर उपाध्याय
हाम्रो देश कृषिप्रधान देश भनेर विश्व मानचित्रमा चिनाइएको भएता पनि हामी आफैँ कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौ । सबै नेपाली युवाहरू आर्थिक समस्याले थिचेर रोजगारीको लागि बिदेश जान बाध्य छन् । गाउँघरतिर जग्गा जमिन सबै बाँझो छन् । खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरीमा परिणत भएका छन् । यो हाम्रो देशको समग्र समस्या हो । धेरै युवाहरू अर्काको देशमा श्रम, सिप, पसिना र रगत बगाईरहेका छन् । नेपालीहरू अर्काको देशमा आफ्नो जीवनलाई छुराको धारमा राखेर काम गर्न बाध्य भईरहेका छन् ।
हाम्रो देशबाट किन यसरी युवाहरू पलायन भईरहेका छन् ? किन स्वदेशमा रोजागारीको सम्भावना छैन ? किन स्रोत ब्यवस्थापन हुन सकेन ? यि गम्भीर प्रश्नहरूको हल हुन जरुरी देखिएको छ । स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु नै अहिलेको आवश्यकता हो । तर, यस प्रकारको अर्थतन्त्र निर्माणमा सरकारको ध्यान जान सकेको छैन ।
देशमा विदेशीको हस्तक्षेपकारी भूमिका बढदो छ । जबसम्म देशमा विदेशीहरूको हस्तक्षेपकारी भूमिका रहन्छ त्यसबेलासम्म आत्मनिर्भर अर्थतन्त्रको निर्माण सम्भव छैन । देशका नेताहरू आफ्नो स्वार्थपूर्तिका लागि विदेशीहरूसँग लम्पसार भई झुक्ने बानीले गर्दा समस्या बढ्दो छ । राष्ट्र र राष्ट्रियताप्रति जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ ।
राष्ट्र र र राष्ट्रयता के हो ? यो विषयमा गहन अध्ययन हुन जरुरी छ । यी विविध कारणले गर्दा स्वाधिन राष्ट्र निर्माण गर्न अफ्ठ्यारो परेको छ । जबसम्म हामी सबैले अर्थतन्त्रको निर्माण गर्न सक्दैनौ तबसम्म राष्ट्र र राष्ट्रिय स्वाधिनता भविष्यमा मात्र सीमित हुनेछ । सियो सम्मको सामग्री आयात गर्ने अर्थतन्त्र होईन । देशमा श्रम सिप, पसिना बनाउने युवाको जमात विदेशमा छ । युवाहरूलाई काम गर्न विदेश जान राज्यले अनुमति दिएको छ । यसले गर्दा हामी परनिर्भर अर्थतन्त्रमा छौं । यसरी देश बनाउन सकिदैन ।
देश बनाउने सोच हुनुपर्छ । नेतृत्वदायीसँग सोच नै छैन । कुराले मात्र हुँदैन ब्यवहारमा कार्यान्वयन हुनु जरुरी छ । राजनीतिक दल र तिनका नेताहरू नै भन्छन् अनि देश कसरी बन्छ ? कर्मचारीतन्त्रको मनपरी छ स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारको जालो छ । जबसम्म भ्रष्टाचारको जालो तोडिदैन तबसम्म देश बन्नेवाला छैन ।
हामीलाई हाम्रो देशको बडो चिन्ता लाग्छ । हामीलाई मात्र चिन्ता लागेर नहुँदो रहेछ । यो देशको चिन्ता नेतृत्ववर्गलाई लाग्न पर्ने हो । खै त्यस्तो देखिदैन । अब युवाहरू उठनुपर्छ, जाग्नुपर्छ, यो देशको मुहार फेर्न अब युवाशक्तिले सपना देख्नुपर्छ ।
अब निदाएर हुँदैन, ब्युझनुपर्छ । देशको मुहार फेर्ने जिम्मा युवाशक्तिको काँधमा छ । यो ऐतिहासिक जिम्मेवारीलाई युवा शक्तिले स्वदेशमा नै रहेर पूरा गर्नुपर्छ । अन्यथा हामीलाई इतिहासले धिक्कार्ने छ ।