-डा. डी. आर. उपाध्याय खनाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आवश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नुभयो भने देशमा आशाका किरण छाउन सक्थ्यो ।
आज देशका सामु धेरै समस्या र चुनौती त छँदै छन् । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भीर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम द्रुत गतिमा अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनुपर्ने भएको छ । अब पनि मुलुकप्रति खेलवाड गर्ने छुट कसैलाई छैन ।
देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवान् र इमान्दार बन्न सक्नुपर्छ । राजनीतिक नेतृत्व इमान्दार बन्ने बित्तिकै आम प्रशासनतन्त्रमा सुधार आउन सक्छ । सरकारका योजनालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने भनेकै कर्मचारीवर्ग हो । राजनीतिक नेतृत्व इमान्दार बन्नै पर्छ । देश भ्रष्टचारमा डुबेको छ । कर्मचारीतन्त्रलाई भ्रष्ट बनाएकै राजनीतिक नेतृत्वले हो । त्यसैले सबैभन्दा पहिला राजनीतिक नेतृत्व आफैं सच्चिनुपर्छ । त्यसैले अब प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो प्राथमिकता आफू सच्चिएर कर्मचारीमा सुधार ल्याउनु हो ।
अधिकांश नेताहरू माफिया, बिचौलिया र तस्करको घेराबन्दीमा छन् । कसरी हुन्छ धन आर्जन गर्ने ध्याउन्नमा उनीहरू लिप्त छन् । देशमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ । त्यसैले सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरुरी छ । अब सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नैपर्ने देखिन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारिता भयो भने देश बन्न कुनै बेर लाग्दैन । सरकारले आफ्नो कार्यकालको अवधिमा गर्न सक्ने तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्छ । त्यसका लागि विषयगत विज्ञ छनोटमा विशेष ध्यान दिनुपर्छ । त्यसो भयो भने मात्र बर्तमान सरकारले गर्न खोजेका कुरा र सपना पूरा हुन सक्छन् । जनताका गाँस, बास, कपासको उचित व्यवस्थापनमा सरकार लाग्नु पर्छ । त्यसैगरी सरकारले स्वास्थ र शिक्षामा सहज पहुँच एवं रोजगारीको उचित अवसरको व्यवस्थापन गर्न सक्नुपर्छ ।