–डा. डी. आर. उपाध्याय
नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ । प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल-पहाड-तराई मिलेर बनेको छ । बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन् । त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ । नेपालको विकास र समृद्धि सम्भव छ । तर, यसका लागि नेपाल चिन्न सक्ने एक दूरदर्शी नेतृत्व आवश्यक छ । अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ ।
कुनैपनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन । देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधन स्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ । त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनु पर्छ । स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर सर्वसुलभ बनाउनुपर्छ । त्यसो भयो भने मात्र देश बनाउन सकिन्छ । कुराले मात्र देश बनाउन सकिदैन ।
देश बनाउन इच्छाशक्ति पनि चाहिन्छ । लामो समयसम्म देश यसरी चल्न सक्दैन । समय र युग अनुसार अघि बढनु पर्छ । समयले कुनै बेला कसैलाई पर्खदैन । छिमेकी देशहरु प्रगतिको मार्गमा कुदिरहेका छन । हामी भने जहाँको त्यही छौं, यसरी हुदैन । अब सोच्नु पर्छ । हाम्रो देशमा रोजगारीको अबसर छैन । त्यसैले नेपाली युवाहरु बिदेश पलायन हुन बाध्य छन ।
बिदेशमा गएर पसिना बगाउनु नेपाली युवाहरूको रहर होइन, बाध्यता हो । नेपाली युवाहरूले विदेशी भूमिमा धेरै पसिना बगाएका छन । बिदेशमा गएर नेपाली युवाहरूले पठाएको रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको अबस्था छ । विदेशमा नेपाली युवाले धेरै कष्टका साथ श्रम गरिरहेका छन ।
बिदेशमा काम गर्न त्यति सजिलो छैन । उनीहरुको पसिना बाट कमाएको पैसाले देश चलेको छ । हामीलाई लाज लाग्नु पर्नेमा गर्व गर्छौं । तर, तिनै बिदेशमा पसिना चुहाउनेहरू समस्यामा पर्दा गुहार दिने कोही छैन । सरकारले औपचारिक निभाउन बिज्ञप्ती जारी गर्ने बाहेक अरु केही गर्न सकेको छैन । सरकारले स्वदेशमै रोजगारीका अवसर दिने हो भने बिदेश जान पर्ने थिएन । सरकारले यो काममा खासै ध्यान दिन सकेको छैन ।
देशलाई आर्थिक रूपमा माथि उठाउन देशमै रोजगारीको अबसर सिर्जना गरिनु पर्छ । देशको बिकास र समृद्धिको आधार भनेको युवा जनशक्ति हुन । देशको भविष्य उज्यालो बनाउने भनेकै युवा हुन । युवा अघि नसरे सम्म देश बन्दैन । युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ? रेमिट्यान्सको भरमा मात्र देश कति दिन टिकाउने ? स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने बेलामा हामी के गरिरहेका छौं ।