-डा. डी. आर. उपाध्याय
देशमा ब्यापक रुपमा भ्रष्टाचार बढेर गएको छ । यो माहामारी जसरी फैलिएको छ । भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले बिकाराल रुप लिन सक्छ । भ्रष्टाचारले सबै क्षेत्रमा लामो समयदेखि नकारात्मक प्रभाव पारिरहेको छ । मुलुकमा भ्रष्टाचार बढ्नु भनेको बिकासको गतिलाई रोक्नु हो । भ्रष्टाचारले देशलाई खोक्रो बनाइसकेको छ । भौतिक सम्पन्नताको होडबाजीका कारणले भ्रष्टाचार बढ्ने हो । देशमा भ्रष्टाचार बढ्दै जानु भनेको यो राम्रो सङ्केत होइन । भ्रष्टाचारलाई अब जरोदेखि नै उखेलेर फाल्नु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ ।
जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैनन् । यो नै गल्ति हो । हामी आफैं गल्ति गरिरहेका छौं । भ्रष्टाचारको भण्डाफोर गर्नुपर्ने बेलामा आफै घुस खुवाउन थाल्यौं भने हामी कस्तो समाज बनाउन खोजिरहेका छौं ? यो बारे हामी नागरिक आफैं सचेत र चलाखो हुनुपर्ने बेला आएको छ ।
मुलुक किन बनेन ? यो बारे बहस गर्न जरुरी छ । मुलुकमा दूरदर्शी नेता नजन्मेकोले देश नबनेको हो । यो साँचो कुरा हो । देशमा शासन व्यवस्था परिवर्तन भयो तर शैली र ब्यवहार परिवर्तन भएन । उही शैली र ब्यवहारले मुलुकको विकास हुँदैन । हाम्रो देश जलस्रोतको धनी देश हो । तर जलस्रोतको सही सदुपयोग हुन सकेन । सरकारले देश विकासका लागि आवश्यक पर्ने शिक्षा नीति बनाउन सकेन । राम्रो किसिमको शिक्षा नीति नभएर पनि मुलुकको विकास पछि परेको हो ।
मुलुकमा दलाल पुँजीवाद हावी भयो l । स्वाधीन अर्थतन्त्र भएन । त्यसैले हामी गरिब भएका हौँ । सरकारले राष्ट्रिय पुँजीको विकास गर्न सकेन । भएका उद्योगहरू सरकारले निजीकरणका नाममा सिध्यायो । औद्योगिक नीति नबनेको कारण मुलुकको विकास नभएको हो । मुलुकमा जबसम्म कृषिजन्य वस्तु उत्पादन हुँदैन, जबसम्म हामीले कृषिमा बिकास गर्न सक्दैनौं । जबसम्म सरकारले देशभित्र युवालाई रोजगारी दिन सक्दैन तबसम्म मुलुक बन्दैन । आखिर के हो मुलुक नबन्नुको कारण ?
मुलुक समृद्ध हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार हो । हरेक चुनावपछि गठन भएका सरकारबाट सुशासन दिने प्रतिबद्धता भएपनि जनताले सुशासनको अनुभूति गरेको आभास मिल्न सकेको छैन । देशमा दलहरूको आडमा भ्रष्टाचार मौलाइरहेको छ । अहिले भ्रष्टाचारको मूल जरो कहाँ छ त्यो खोज्नु पर्ने बेला भएको छ । गरिब, असहायका नाममा आएको अर्बौं रकम हिनामिना भएको छ । सरकारले भ्रष्टाचारको कुरा जोडदार रूपमा उठाए पनि मुलुक अहिले भ्रष्टाचारबाट आक्रान्त छ ।
भ्रष्टाचार कहाँ छ भनेर खोज्नु भन्दा पनि भ्रष्टाचार कहाँ छैन भनेर खोज्नु पर्ने भएको छ । भ्रष्टाचार अहिले सङ्घीय सरकारदेखि स्थानीय सरकारसम्म फैलिएको छ । न्यायालय पनि अहिले भ्रष्टाचारको अखडा भएको पाइएको छ । दलहरूको आम्दानी र खर्चको स्रोत पारदर्शी छैन । सबै भ्रष्टकर्मचारीहरू नेताको संरक्षणमा छन् । सुशासनको कुरा नारामा मात्र सीमित भएको छ । न्यायपालिका तीन महिनादेखि ठप्प हुँदासम्म राजनीतिक दल स्वार्थको कारण बोलिरहेका छैनन् । राजनीतिक दलहरूमा जसरी पनि कमाउनु पर्छ भन्ने सोच हाबी छ । चुनाव जित्नुपर्छ भन्ने मानसिकताको विकास भएको छ ।