-डा. डी. आर. उपाध्याय
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भएसंगै काँग्रेस अब कसरी अघि बढछ बहसको बिषय बनेको छ । देउवा सभापतिमा निर्वाचित भएसगै उनी सामु अबसर र चुनौति दुबै आएका छन । आउँदा दिनमा उनले पार्टी कसरी हाँक्छन त्यो नै महत्वपूर्ण सवाल बनेको छ ।
यसपटकको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा उठेका थिए । तर सोचे जस्तो त्यस्तो परिणाम आएन । महामन्त्रीपदमा गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारेसंगै काँग्रेसमा युवा जमातको मनोवल भने राम्रै किसिमले बढेको हुनु पर्छ । नेतृत्व नै युवाको हातमा जानु पर्ने हो तर त्यसतो हुन सकेन । अहिलेको यो चुनाबी अभ्यासले प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल र डा. प्रकाशशरण महत महामन्त्री पदमा नराम्रोसंग पराजित भए । रिजालले त नैतिकताको आधारमा मन्त्री पदबाट समेत राजीनामा दिए । यद्यपि देउवाले पुनः दोस्रो पटक सभापतिमा बाजी मारे ।
कांग्रेस पुरानो इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो । यो पार्टी कमजोर हुनु हुदैन । किनभने यो पार्टी कमजोर हुने बित्तिकै लोकतन्त्र कमजोर हुन्छ । नेपाली काँग्रेस वर्तमान राजनीतिक समीकरणमा समेत सत्ता गठबन्धनको नेतृत्व गरेको दल हो । तसर्थ उक्त दलको महाधिवेशनलाई सबैले प्राथमिकतासाथ लिनु स्वभाबिक नै हो । महाधिवेशनले देउवालाई झन शक्तिवान बनाएको छ । जसरी पनि देउवालाई नेतृत्वबाट विस्थापित गर्ने रणनीति बुन्नेहरु अन्ततः देउवा सामु लम्पसार भएर झुके ।
महाधिवेशनमा युवाहरूको राम्रै उपस्थिति थियो । ५० भोटसमेत प्राप्त नगर्नेहरू चुनावको मैदानमा देखिए । सभाति पदमा सोचे जति भोट नपरे पछि प्रकाशमा सिंह र बिमनेन्द्र निधिने दोस्रो चरणको चुनावमा देउवालाई सघाए । देउवाइतर भनिएकाहरू नै देउवा खेमामा मिसिन पुगे । नेतृत्वमा लडाइँ लडेका नेताहरु नै दोस्रो चरणको चुनावमा देउवा जिताउ अभियानमा लागे । राजनीति भनेको घुमाउरो बाटो भन्थे हो रहेछ । आ-आफ्नै दाउपेच र स्वार्थमा लागेका नेताहरु खै के कारणले हो देउवा जिताउ शेखर हराउ अभियानमा लागे । यद्यपि कांग्रेश नेतृत्वको विषयमाथि सुरुमा गम्भिर बहस चलेको थियो । नेतृत्व परिवर्तन आजको आबश्यकता हो भनेर काँग्रेस नेताहरु घनिभूत छलफलमा नजुटेका होइनन् तर परिणाम देउवाको काँधमाथि आयो । तसर्थ देउवाका लागि यो समय चुनौती र मौका दुवै सघन भएको एक अन्तिम अवसर हो ।
नेपाली कांग्रेसको नेतृत्व धेरै बर्षसम्म कोइराला परिवारमा थियो। देउवाले दुइकार्यकाल पार्टी हाँक्दै छन । देउवा भाग्यमानी नेता हुन किनभने उनी यसैवर्ष दुईवटा महत्वपूर्ण जिम्मेवारी पाउन सफल भएका छन । अप्रत्याशित हिसाबले सरकारको नेतृत्व गर्ने र सभापतिमा दोहोरिएर काम गर्ने अबसर उनले पाएका छन । उनले मत माग्दा नै अन्तिम एक पटक भनेका थिए । त्यो कारणले पनि पार्टी सभापति जित्न सफल भएको हुनु पर्छ ।
नेपाली कांग्रेशले पटकपटक सत्ता सञ्चालनको जिम्मेवारी पायो तर देश र जनताले सोचे बमोजिमको बिकास र समृद्धि दिन भने सकेन । बहुदलीय व्यवस्थाको पुनर्स्थापनादेखि उसले नै निरन्तर देशको सत्ता अनि शासनको बागडोर सम्हाल्यो । दुर्भाग्य, देशको अबस्था फेरिन भने सकेन । विश्वका अन्य कतिपय देशहरूले आर्थिक, सामाजिक, सांस्कृतिक विकासका नयाँ तथा आश्चर्यजनक आयामहरू निर्माण गरे । छिमेकी भारत र चीन उदीयमान अर्थतन्त्र बिकासको हिसावले कहाँ देखि कहाँ पुगिसके हामी भने जहाँको त्यही छौं ।
देशमा बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, कुशासन, बेथितिहरू ब्याप्त छन । देशको बिकास गर्ने कुरामा यो सरकार अलि गम्भिर बन्नु पर्छ । सबैको अगुवा भनेको चाहिँ सरकार नै हो । सरकार निर्माण र नेतृत्व गर्ने सबैभन्दा धेरै र लामो समय अवसर प्राप्त गरेकाले देश बिग्रिनुमा धेरै जिम्मेवारी पनि स्वतः कांग्रेशले नै बोक्नुपर्छ । काँग्रेसका लागी यो मौका हो । देशको र जनताको उन्नति प्रगति देउवाले अब खोज्नुपर्छ । २०१५ सालको चुनावमा दुईतिहाइ बहुमत अनि बहुदलीय व्यवस्थाको समयमा दुई पटकसम्म स्पष्ट बहुमत प्राप्त कांग्रेस आज अलि कमजोर अनि लज्जास्पद हार बेहोरेको दलमा सीमित हुँदैछ । आगामी चुनावमा कस्तो मत परिणाम ल्याउछ त्यो हेर्न बाँकी छ ।
एमाले बिभाजन भएको अबस्था छ । यस्तो अबस्थामा काँग्रेसले बहुमत ल्याउछ की भन्ने अनुमान मात्र हो । अहिलेसम्म आफू सक्षम भएर नभै, अरूको आन्तरिक कलह धेरै भएर कांग्रेसले मौका पाएको हो। कम्युनिस्टहरूमा फुटआउनु नै कांग्रेसलाई फाइदा हो । नेपालका कम्युनिस्टहरूको फाटो परेको बेला काँग्रेसले आफूलाई मजवुत र बलियो बनाउनेतिर जानु पर्छ । आफूलाई पुनर्निर्माण गर्ने काममा काँग्रेस अघि बढनु पर्छ । अब कांग्रेसको इतिहास रच्ने बेला हो यो । अवसरको संघारमा कांग्रेस उभिएको छ। तसर्थ, देउवाको नेतृत्व नयाँ नीति र प्रायोगिक कार्यक्रम लिएर आउनुपर्छ । पाँच वर्षपछि अर्को महाधिवेशन गर्ने मात्र हिसाबको नभई देशको रूपान्तरणका लागि ठोस कदम लिँदै पहिले आफू रूपान्तरित हुने साहस देखाउनुपर्छ। नागरिकका समग्र जीवनस्तर अभिवृद्घिका लागि आधुनिक र वैज्ञानिक अवधारणा ल्याउन सक्नुपर्छ, जनतालाई उसमाथि आस जगाउन सक्नुपर्छ ।
ठूलो भन्ने पार्टीको कदम पनि ठूलै हुनुपर्छ । केही मुठ्ठीभरहरूले हाम्रो कांग्रेस भन्ने नभई आम नागरिकले राम्रो कांग्रेस भन्ने बन्नुपर्छ । देशको विकासका लागि नयाँ नीति निर्माण, वैदेशिक सम्बन्धको पुनर्व्याख्या अनि देशका जल्दाबल्दा समस्याको उपचार गर्ने सवालमा गहन कार्र्यनीति ल्याउनुपर्छ। सफल राष्ट्रनिर्माणको अभियानमा नेतृत्वदायी र कुशल भूमिका निर्वाह गर्ने तत्पतरता देखाउनुपर्छ । कांग्रेस लोकतन्त्रको आन्दोलनको अगुवाइ गरको पार्टी हो । त्यसैले उ आफैं लोकतान्त्रिक अभ्यासबाट आफना नेता चुन्दै छ । यसर्थ देउवाले कांगे्रसलाई व्यवस्थापन गर्नुपर्ने गहन आवश्यकता छ ।