-डा. डी. आर. उपाध्याय
यतिबेला जनताको आवाज उठाउने ठाउँ छैन । देशमा प्रतिनिधिसभा विघटन छ । देशमा उत्पन्न राजनीतिक सङ्कट गहिरिदो छ । अहिले दलहरु आ-आफ्ना शक्ति प्रदर्शनमा लागीरहेका छन् । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट्ने फुट्ने फेरि जुट्ने कुरा कुनै नौलो होइन । लेनदेनको कुरा नमिलेपछि यस्तो हुन्छ । भएको त्यही हो । नेकपा एमाले लेनदेनको कुरा मिलेपछि फेरि मिल्न सक्छ । यसलाई कुनै ठूलो कुरा बनाउनु जरुरी छैन ।
पछिल्लो समय नेकपा एमालेका के. पी. ओली र माधव नेपाल समूह दुई खेमा बीच एकअर्का माथि गालीगलौज चलेको छ । यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन । भावि पुस्ताले यिनीहरुबाट के सिक्ने ? जनताको कुनै चिन्ता छैन । आफनो स्वार्थका लागि नेताहरु एक आपसमा लडेका छन् । देश र जनताको भलाईका लागि यिनीहरु लडेका होइनन् । यो भ्रममा कोही नपरौं । आफनो स्वार्थका लागि नेताहरु झगडा गरिरहेका छन् । एउटा उच्च शीर्षस्थ नेताले अरू नेताहरूमाथि अराजक, अश्लील शब्द प्रयोग गर्नु राम्रो कुरा होइन । विगतमा पनि यस्तै राजनीतिक किचलो भई शत्रुतापूर्ण अवस्थामा पुगेका राजनीतिक दलबीच पुनः कार्यगत एकता र एकीकरण भएका उदाहरण थुप्रै छन् ।
अहिले नेकपा एमालेमा जुन किसिमको किचलो छ त्यो कुर्सीका लागि हो । झगडाको राजनीतिले मुलुक पछाडि परेको छ । नेकपा एमालेका दुवै खेमा मिलेर जाँदा मुलुक र पार्टीको हितमा हुन्छ । मुलुकको हितका लागि नेकपा एमाले मिल्नु पर्छ । नेकपा एमाले नमिलेसम्म देशमा सङ्कट समाधान नहुने सङ्केत देखियो । अहिले आत्मनिर्भरता, विकास र, समृद्धिका कुरा ओझेलमा परेका छन् । रोजगारीका अवसर गुमेका छन् । समाजवाद उन्मुख अर्थतन्त्र सङ्कटमा छ । त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ ।
कोरना भाइरसको माहामारीले बितेको वर्ष मानवजातिलाई त्रासमा जिउन बाध्य बनायो । अहिले पनि त्यस्तै बनायो । अहिले कोभिड-१९ विरुद्ध खोप प्रयोगमा आएको कुराले केही सन्तोष मिलेको जस्तो देखिन्छ । तर, यसले भाइरसलाई पूर्ण रूपमा निस्तेज र निष्कृय बनाउँछ भन्ने कुरामा अझै विश्वस्त हुन सक्ने अवस्था भने छैन । लोकतन्त्र प्राप्तिपछि जनताका अपेक्षाहरु पूरा भएका छैनन् । जनतामा असन्तुष्टि छ । देशमा सिर्जनात्मकभन्दा ध्वंशात्मक प्रवृत्ति हावी हुँदै गएको छ । यसले देशलाई गलत बाटोतर्फ लाने हो कि भन्ने चिन्ता बढाएको छ । अव यस कुरामा सबैले ध्यान दिनुपर्ने जरुरी देखिएको छ । यदि उत्पन्न समस्या समयमा नै समाधान गर्न सकिएन भने देशको भविश्य अन्धकारमा फस्ने निश्चित छ । देशको गतिशीलतालाई रोक्ने पवृति हावी हुँदै छ । अव उत्पन्न यावत समस्याहरु समाधान नभएमा यसले ठूलो विकृति, विखण्डन र सामाजिक सद्भावमा विग्रह ल्याउने सम्भावना देखिन्छ ।
अव दलहरूले आफ्नो दलभित्रको अन्तरविरोध वा द्वन्द्वलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नु पर्छ । राजनीतिक नेतृत्व निजी गुटगत वा निश्चित समूहको हितमा लाग्दा देशको भविश्य बर्बाद हुँदैछ । यस अवस्थाले मुलुक प्रतिगमनतिर जाने खतरा आउन सक्छ । यस्तो अवस्थामा सबै दलहरु जिम्मेवार हुनु पर्छ । अव नेकपा एमालेका दुवै खेमाका नेताहरुले देश र जनताको हितमा सशक्त भूमिका खेल्नुपर्ने आबश्यकता देखिएको छ । प्रतिपक्ष नेपाली कांग्रेस पनि गम्भीर हुनुपर्ने देखिएको छ । दलहरू आन्तरिक कलहमा अल्झिनु राम्रो सङ्केत नै होइन ।