-डा. डी.आर. उपाध्याय
विश्वमा सबैभन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन् । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामीले नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्न र बुझाउन अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत प्रवृत्तिलाई चिरेर युवा अघि बढ्नु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाश जस्ता युवा नेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथ जस्ता युवा नेता जुर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन् । समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् । नागरिकको अबको एक मात्र सपना समृद्धि हो ।
समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा छ । यो देशको समृद्धिका लागि युवाको आवश्यकता छ । दिगो विकासका हरेक एजेण्डाहरू युवासँग जोडिएका छन् । नेपालको राजनीतिमा पछिल्लो समय जुन किसिमका राजनीतिक गतिविधि भइरहेका छन् ती सबै सन्तोषजनक छैनन् । जनता निराश छन् । अव युवाको काँधमा देशको जिम्मेवारी दिनुपर्ने आवश्यकता देखिन थालेको छ । राज्यका संयन्त्र, नीतिनियम र व्यवहारहरू जनमुखी छैनन् । देशमा सधै राजनीतिक अस्थिरता छ । यसरी देश कसरी अघि बढ्छ ?
विगतदेखि नै अपरिपक्व नेताकै कारण देश माथि उठ्न सकेन । अझै पनि कति समय यस्तै गन्तव्यहीन बाटोमा राजनीति जाने हो त्यो कुनै निश्चित छैन । आजका हरेक युवामाझ यस्ता गम्भीर प्रश्न तेर्सिएका छन् । नेपालका राजनीतिक दल र तिनका नेताहरुमा इमान्दारिता भन्ने कुरा छँदैछैन । विगतदेखि नै उनीहरुमा राजनीतिक संस्कार, इमान्दारिता देखिएन । नागरिकले व्यवस्था परिर्वतनमा साथ दिएका हुन् । तर समयक्रम अनुसार व्यवस्था बदलिए, नागरिकको अवस्था बदलिएन । सक्षम युवा नेतृत्व अवको खाँचो हो । अबको समय राजनीतिक संस्कार र इमान्दारिता हो ।
आज सक्षम र पौरखी युवा बिदेश पलायन छन् । त्यसको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । स्वदेशमा नै प्रसस्त अवसर र सम्भावना हुँदाहुँदै पनि रोजगारमूलक क्षेत्र व्यवसायको बिस्तार हुन सकेको छैन । स्वदेशकै स्रोत तथा साधनको उपयोग र संरक्षण, सम्वर्धन र विकास गर्न युवाको खाँचो छ । राज्यको दूरदर्शी नीतिको अभावले युवा बाध्यताले बिदेश पलायन छन् । यस्तो नियति अझै कहिलेसम्म निरन्तर चल्ने हो कुनै ठेगान छैन । एकातर्फ युवा पलायन हुनु अर्कातर्फ कृषियोग्य भूमि बाँझो रहनाले उत्पादन र रोजगार राज्यले गुमाउनु परेको छ । जसका कारण सामान्य वस्तु तथा सेवा, कृषि, पशुपक्षी, लत्ताकपडा र आधारभूत आवश्यकताहरूमा नै परनिर्भरता बढेको छ ।
नीति नियम प्रभावकारी र जनमुखी नहुँदा विकासका कार्यक्रममा अनियमितता, ढिलासुस्ती र चरम लापरवाही छ । सीमित व्यक्तिका स्वार्थका कारण यस्ता समस्या निरन्तर आइरहेका छन् l युवाले आज परिकल्पना गरेको नेपाल भनेकै सुशासन सहितको समृद्ध मुलुक हो । जुन देशमा सुशासन छ ति देश आज सम्पन्नताको शिखरमा पुगेका छन् । तर हामी भने देशको गम्भीरतालाई बुझ्न सकिरहेका छैनौं । बेथितिका विरुद्ध युवाले आवाज उठाउनु पर्छ । युवा नउठे को उठने ? युवा सधैं सचेत हुनु जरुरी छ ।