निषेधाज्ञाको मौका छोपेर कालोबजारी मौलाउँदै

-डा. डीआर उपाध्याय


आज देश बिषम परिस्थितिबाट गुज्रदैछ । कोरोनाको डरले मान्छे घरबाट बाहिर निस्केका छैनन् । देशभरिका अस्पतालमा अक्सिजनको अभाव भइरहेको समाचार दिनौंजसो आईरहेका छन् । अक्सिजन लिईरहेका बिरामी अक्सिजन सकिएर मरेको समाचार आउँछन् । यो भन्दा दुखद् कुरा अरु के हुन सक्छ ? सरकारले पूर्वतयारी नगरेको कारण यो भयावह परिस्थिती निम्तिएको हो । यदि समयमा सरकारले पूर्वतयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन । भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा हुँदै पनि सकारले किन पूर्वतयारी गर्न सकेन ? सरकारलाई के ले रोक्यो ?  प्रश्न यो पनि हो ।

आज देश बडो दु:खमा छ । सिंगो देश रोएर बसेको छ । आज राजनीतिक दल र तिनका नेताहरु सत्ता स्वार्थको हड्डी लुछाचुँडी गर्न ब्यस्त छन् । यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको ब्यवस्थापन गर्नेतर्फ दल र तिनका नेताहरुको ध्यान गए हुन्थ्यो भन्ने आमनागरिकको अपेक्षा हो । तर नेताहरुले यतातिर पटक्कै ध्यान दिएका छैनन् । आज रवि लामिछाने जस्ता सञ्चारकर्मीले अक्सिजनको जोहो गरिरहेका छन् । समस्यामा परेका मान्छेहरुलाई सहयोग गरिरहेका छन् । मैले हिजो एउटा भिडियो देखें । रवि लामीछाने र सरकारका एकजना मन्त्रीबीचको सवाल जवाफ थियो त्यहाँ । बडो अचम्म लाग्यो । रवि भन्छन् – ‘मन्त्रीज्यू एउटा अक्सिजनको सिलिण्डर ल्याएर देखाउनु होस् त  । फेरी भन्छन् एउटा अक्सिजनको सिलिण्डर ल्याएर देखाउनुहोस् त । मन्त्री ट्वाँ मात्र पर्छन् l ल्याएर देखाउँछु भन्न समेत सकेनन् । यो मेरो देशको कस्तो बिडम्वना हो ?

आज अक्सिजनको अभावमा कति नागरिकले ज्यान गुमाईरहेका छन् । सबै नागरिक जुटेर यो भयावह परिस्थितीको सामना गर्नुपर्ने अवस्था आएको छ । निषेधाज्ञाको मौका छोपेर कालोवजारी मौलाउँदै गएको छ । सरकारले त्यसको प्रभावकारी ढङ्गले अनुगमन गर्न सकिरहेको छैन । कालोबजारीका कारण धेरै चिजहरु अभाव हुँदै गएका छन् । कालोबजारी नियन्त्रण गर्ने कुरामा अहिलेसम्म कुनै सरोकारवाला निकाय लागेका छैनन् । कोरोनाको बहानामा आमनागरिकलाई सास्ती दिने काम बाहेक अरु केही गर्न सकेका छैनन् । आमनागरिक त सरकारले जारी गरेको निषेधाज्ञालाई पालना गरि घरमै बसिरहेका छन् । काम गर्न नपाएपछि पैसा आउँदैन, पैसा नभएपछि भोकै बस्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो बाध्यतामा धेरै नागरिक परिसकेका छन् ।

आज धेरैको चुलो निभेको अवस्था छ । श्रमजीवि वर्ग जो दैनिक मजदुरी गरेर जीविका चलाईरहेका थिए, ती वर्गको अवस्था यतिबेला नाजुक छ । यो आपत बिपतमा हेर्नुपर्ने त सरकारले हो नि त । तर सरकार कता कता हराए जस्तो छ । निषेधाज्ञाको मौका छोपेर पैसा कमाउनेको पनि कमी छैन यहाँ । बजारमा महंगीले आकाश छोएको छ । बजार भाउ छोइसक्नु छैन । यस्तो भएपछि कसरी बाँच्ने ? मान्छे बाँच्नका लागि गाँस, बास, कपासको अति आवश्यकता हुन्छ । त्यसको जोहो गर्न रोजगारी चाहिन्छ । जब मान्छेको रोजगार गुम्छ तब ऊ भोको हुन्छ । किनकि रोजगार गुमेपछि ऊसँग पैसा हुँदैन । अहिले आम नागरिकको समस्या यस्तै बन्दै छ । सरकारी जागिर खाने, सरकारी तलव भत्ता बुझने बाहेक अरु नागरिकको समस्या दयनीय छ । शहर बजारमा भाडामा बस्ने नागरिकको समस्या त्यस्तै छ । घरधनीहरुले महिना कट्दा भाडा छोडदैनन् । शहरमा कोठा भाडाको पनि त्यस्तै महंगी छ । अहिले देश पूरै भद्रगोल अवस्थामा छ । समस्यै समस्याकाबीच नागरिक बाँच्नु परेको छ ।

धन हुनेको मन छैन, मन हुनेको धन छैन । पैसा हुनेहरुले त्यस्ता समस्यामा परेका नागरिकहरुलाई सहयोग गरे हुन्थ्यो नि ! नेपालमा सहयोगी हातहरु नउठेको होइन, उठिरहेका छन् । तर त्यतिले मात्र पर्याप्त छैन । अब सबैले मन फुकाएर आ-आफनो ठाउँबाट समस्यामा परिरहेका नागरिकहरुलाई जे सकिन्छ सहयोग गर्ने भावनाको विकाश गरौँ । समस्यामा परेको बेलामा हो एकले अर्कालाई सहयोग गर्ने l अरुबेला त आफैं गरिखाईन्छ नि ! अब सरकारको मुख ताकेर बस्ने बेला छैन l आफनो सुरक्षा आफैं गर्ने हो ।