–डा. डीआर उपाध्याय
देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई हुने थियो भने यो देश धेरै पहिलेदेखि बन्थ्यो । जनता भोका नाङ्गा र बेरोजगार छन् । जनताको पीडा सुन्ने र बुझने नेताको अभाव छ यहाँ । हिजो चप्पल लगाएर काठमाडौ छिरेका नेताहरुको काठमाडौमा अलिसान महल र प्रशस्त बैक ब्यालेन्स छ । आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने, फाइदा नेताले लिने l यो कस्तो लोकतन्त्र हो ? बेला बेलामा प्रश्न उठ्ने गर्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भैसक्यो । यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन । कुनैपनि देशमा यति धेरै समयसम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ ।
दल र तिनका नेताहरुको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो । तर हात लाग्यो शून्य । यो तरिकाले देश बन्दैन । सीमित नेता मोटाउने, जनता भोका हुने अवस्था कायम रहिरह्यो भने बिद्रोह हुन सक्छ । यो बिषयमा सवै गम्भिर हुन जरुरी छ । हामी कता जादै छौ ? र देशलाई कता लैजादै छौ ? सत्तामा पुगेपछि नेताहरु एक आपसमा लड्ने काम धेरै पहिले देखि सुरु भएको हो । यो परम्परा र संस्कृति अझै कायम छ । जस्ले गर्दा देश र जनताले दु:ख भोग्नु परिरहेको छ । लामो समयदेखि जनताले कष्ट भोग्नु परिरहेको छ । राज्य सञ्चालकहरु इमान्दार भएनन् । यदि इमान्दार हुन्थे भने देश र जनताले दु:ख पक्कै पाउने थिएनन् ।
नेताहरुले जनताको मतको अपमान गरे । जनताप्रति उत्तरदायी भएनन् । देशका युवा खाडी तथा अन्य मूलुकमा पलायन छन् । यो रहर होइन बाध्यता हो । राज्यकोषको दुरुपयोग भएको छ । कहाँ के कति खर्च भयो खोज्ने आँट कसैले गदैनन् । देश आर्थिकरुपमा धराशयी बन्दै छ । यो बडो चिन्ताको बिषय हो । हिजो चुनावमा बाचा गरेका सवै कुरा बिर्सिएर नेताहरु सत्ता स्वार्थमा लडिरहेका छन् । यो भन्दा लाज लाग्दो कुरा अरु के हुन सक्छ ? हामी आफै सोचौं । देश बनाउछौ भन्नेहरु नै सत्ता स्वार्थमा लडिरहेका छन् । अव जनता आफै जाग्नु पर्ने बेला भएको छ । यो तरिकाले देश उभो लाग्दैन ।
देशको हितका बारेमा लेख्दा कसैलाई यो कुरा तितो लाग्न सक्छ । तितो भए पनि कुरा सत्य हो । जनताको पक्षमा कलम चलाउदा कसैलाई नराम्रो लाग्छ भने मैले के भनु । राजनीतिको नाममा ब्यापार हुनु भएन । मैले भन्न खोजेको कुरा यो हो । राजनीतिक परिवर्तन पछि धेरै सरकार बने तर जनताले देशमा सरकार भएको कुनै समय पनि महसुस गरेनन् । जति सरकार बने पनि नेता बने तर देश र जनता बन्न सकेनन् । नेता सम्पन्न बनेर मात्र देश बन्दैन । सवैभन्दा पहिला देश र जनता सम्पन्न हुनु पर्यो भन्ने मेरो भनाई हो । जवसम्म जनता सम्पन्न हुन सक्दैनन् तवसम्म देश बन्दैन ।