राजनीतिक संकट उत्पन्न हुनुमा दम्भको राजनीति जिम्मेवार

डा. डीआर उपाध्याय


यति बेला देश राजनीतिक संकटले अप्ठारोमा परेको छ । देशको राजनीतिक संकट समाधान गर्ने तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । लामो समयसम्म राजनीतिक संकट यही अवस्थामा रहने हो भने देशमा खतरा आउन सक्छ । पौष ५ मा प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक संकट बढ्दै गएको छ । मुलुकमा शान्ति, विकास र सामाजिक न्यायसहित समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माणको दिशामा अगाडि बढनुपर्नेमा नेकपा दुई खेमामा विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउँदै हिड्नु खासै राम्रो संकेत होइन । संविधान जारी भएको ५ वर्ष नपुग्दै मुलुकमा यस्तो गम्भीर खालको राजनीतिक संकट निम्तनु नेपाल र नेपाली जनताको लागि दुःखद पक्ष हो ।

सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्लाई विघटन गर्नु हुदैन्थ्यो । यसले संविधानका मूल्यमान्यतामा गम्भीर खालको चुनौती खडा भएको छ । आर्थिक सामाजिक रूपान्तरणका जनमुखी कार्यक्रम आजको आवश्यकता हो । राजनीतिक संकटलाई छिटो समाधान गर्नुपर्छ । राजनीतिक संकट उत्पन्न हुनमा नेकपाका दुबै खेमा दोषी छन् । नेकपाका दुबै खेमाले दम्भको राजनीतिलाई छाडेर वर्तमान संकट समाधान गर्नेतर्फ लाग्नुपर्छ । नेकपाले नेपाली जनता र देशलाई धोका दिने काम गरेको छ । यो कुरा नेपाली जनताले चुनावको परिणाम बाट निश्चय नै फैसला गर्ने नै छन् । सत्तामा पुगेपछि सत्ता उन्मादले जुन सुकै शासकलाई पनि अन्धो बनाउँछ । सत्ताको घुम्ने कुर्सी नै त्यस्तै हुदो रहिछ कि क्याहो । कवि भूपि शेरचनले त्यसै भनेका होइनन्रहेछ घुम्ने मेच माथि अन्धो मान्छे । यो कुरा वर्तमान शासकलाई मात्र भन्न खोजेको होइन, विगतका शासकको पनि यही प्रवृति रहेछ ।

दलीय व्यवस्थामा शासक जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्छ । आफू खुसी शासन चलाउन पाइदैन । यसले अहिले जस्तै भोलि पनि राजनीतिक संकट उत्पन्न गराउन सक्छ । अहिले पनि जनतामा उत्साह छैन । जनतामा निराशा, आक्रोशको मात्रा बढेर गएको छ । विगतमा राजनीतिक दलबीचमा भएको सहकार्य र एकताबाट जुन परिवर्तन भयो र सहमतिबाट संविधान जारी भयो । तर, संविधान जारी भएपछि राजनीतिक दलबीचमा ध्रुर्वीकरण भयो । अझ पछिल्लो समय संसद् विघटनको कदमले राजनीति ध्रुर्वीकरण बढेर गएको छ । देशभित्र रोजगारीका अवसर नपाउँदा रोजगारीको खोजीमा ५०औं लाख नेपाली विदेशतिर भौतारिरहनुपर्ने जुन स्थिति छ, यसले पनि संकट उत्पन्न गरेको छ ।

सार्वभौमसत्ता सम्पन्न जनता भनेर संविधानले प्रत्याभूत गरेको छ । तर, जनताको राज्यसत्तामा भएको बेथितिलाई निगरानी र नियन्त्रण गर्ने क्षमता कमजोर बनेको छ । नेता नै सबै थोक हो भन्ने सामन्तवादी सोच हाबी रहेको छ । पार्टीमा आन्तरिक लोकतन्त्र सुदृढ हुन सकेको छैन । कार्यकर्ता पार्टीको नीति होइन, अमुक नेताका पछि लाग्ने गुटबन्दीपूर्ण अभ्यासले गर्दा पनि पार्टीहरू पद्धतिसम्मत ढंगबाट सञ्चालन हुन सकिरहेका छैनन् । जसले गर्दा आन्तरिक लोकतन्त्र कमजोर भएको छ ।राजनीतिक क्षेत्रमा उत्पन्न समस्या र संकटले आर्थिक सामाजिक क्षेत्रमा समेत संकट उत्पन्न गरेको छ ।