–डा. डीआर उपाध्याय
कुनैपनि देश बिकासका लागि सुशासन नै प्रमुख सर्त हो । विश्वका जुनसुकै देशको बिकास भएको छ, त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुँदैन ती देश बिकासको हिसाबमा पछाडि परेका छन् । त्यसैले अब नेपालको बिकास गर्ने र समृद्धि ल्याउने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो, तर अहिलेसम्म भ्रष्टाचारमा अलिकति पनि कमी आएको छैन ।यस्तो भएपछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी–चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ ।
हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भई नै रहेको छ । ब्यवस्था बदलिएको छ, जनताको अवस्था उस्तै छ । यत्रो परिवर्तनको के मतलव ? जब जनता खुशी र सुखी हुन सकेनन् भने । राजनीतिक दल र तीनका नेताहरुले जनता अल्मल्याउने काम मात्र गरे । वास्तबमा देशमा जनताको चाहाना अनुसार काम हुन सकेन । पुराना दलहरु मात्र होइन, अहिले देखिएका नयाँ दल र तिनका नेताहरुले पनि मुलुक बनाउने विकल्प दिन सकेनन् ।
अब मुलुकलाई नयाँ भिजन र नयाँ मिसन सहितको राजनीतिक नेतृत्वको खाँचो छ । त्यसो भयो भने मात्र मुलुकको भाग्य र भविष्य निर्माण हुने छ । अब देश निर्माणका लागि मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविद्को खाँचो छ । अब कुरा मात्र गरेर देश बन्दैन । देश बनाउन सबै एकजुट भएर लाग्नु पर्छ । अर्को कुरा, देश बनाउन भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु पर्छ । जबसम्म देशमा भ्रष्टाचार हुन्छ, त्यस बेलासम्म देशमा बिकास र समृद्धि आउन सक्दैन । यो बिषयमा सबै गम्भीर बनौं । भ्रष्टाचार भनेको देशको क्यान्सर हो । यसको समय छँदै उपचार गरिएन भने जे पनि हुन सक्छ । अब हामी सबैले मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं ।