‘फकलीको गाउँ’ को अङ्ग्रेजी संस्करण पाठकमाझ

साहित्यकार लेखनाथ पोखरेलको नियात्रा सङ्ग्रह ‘फकलीको गाउँ’ अङ्ग्रेजी संस्करणमा पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’को अङ्ग्रेजी संस्करण पाठकमाझ आएको हो ।

यात्रा वृत्तान्तमा आधारित विभिन्न शीर्षक दिएर बाईस गुच्छाहरूको संगालोको रूपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसङ्गको सङ्ग्रह गर्नुभएको छ । कृतिमा ‘ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेस, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खाष्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्न जाँदा जस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनुभएको छ । ‘धरणीमा मेरो यात्रा’बाट सुरु गरिएको यस कृतिमा नागाल्याडको संस्कृति भुटान नरेशको प्रसङ्ग पनि यसमा समेटिएको छ ।

कृतिमा लेखकले उहाँका जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूति, जागिरे जीवनका भोगाइ र अवकाश प्राप्त जीवनका अनुभवहरू जस्ता चार कालखण्डलाई बडो रोचक, सन्देशमूलक, तथ्यपरक र ज्ञानबर्द्धक रूपमा पस्किएको महाकाव्यकार खेमनाथ दाहाल बताउनुहुन्छ ।

‘लेखक लेखनाथ पोखरेलले अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रियचेतले ओतप्रोतयुक्त यात्रा विवरणका रूपमा प्रस्तुत गर्नुभएको छ कृतिमा’, स्रष्टा दाहालले भन्नुभयो, ‘नेपाली संस्करण जस्तै अंग्रेजीलाई पनि पाठकले मन पराउनेछन् ।’

आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई यस कृतिमा उतार्ने कोसिस गरेको भन्दै लेखक पोखरेलले ‘आफ्नो अतीतलाई उधार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मणको ठूलै संगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो’, भन्नुभयो । उहाँले अंग्रेजी संस्करणको पनि माग भएको हुँदा यसै रूपमा पाठकमाझ आएको बताउनुभयो ।

नेपाली संस्करणको पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गर्नुभएको थियो भने महाकाव्यकार खेमनाथ दाहालको भूमिका छ । आशिष पोखरेल प्रकाशक रहनुभएको २२४ पृष्ठको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।