रञ्जिलाको यथार्थपरक सामाजिक उपन्यास ‘प्रेरणा’ को लोकार्पण

वरिष्ठ गीतकार तथा कवि श्रवण मुकारुङले समाजमा जरा गाडेर रहेको लागु औषध दुर्व्यसन सम्बन्धी पुस्तक लेखेर नेपाली साहित्य क्षेत्रलाई ठुलो गुन लगाएको बताएका छन् । उनले आख्यान कृति विशाल फाँट ओगट्ने विधा भएकोले पनि आफ्नो कृतिभित्र लागु औषध दुर्व्यसनमा फसेका र फस्न लागेकाहरुलाई यो पुस्तक ‘प्रेरणा’ले समाजमा सकारात्मक सन्देश दिने बताएका छन् ।

झापाको दूधेस्थित हाइजेनिक होटलमा शनिबार रञ्जिला लिम्बूको पहिलो आख्यान कृति ‘प्रेरणा’को विमोचन गर्ने क्रममा प्रमुख अतिथिसमेत रहेका मुकारुङले उक्त कुरा बताएका हुन् । उनले लागु औषध दुर्व्यसनलाई निरुत्साहित गर्ने खालको पुस्तक अहिलेसम्म नआएकोले पनि यो पुस्तक समाज रुपान्तरणको लागि कोषेढुङ्गा हुने बताउँदै कृतिको सफलताको आशा व्यक्त गरेका छन् । सतासी साप्ताहिक खबर पत्रिकाको आयोजनामा सम्पन्न सो कार्यकममा प्रमुख अतिथि मुकारुङले लेखकको जीवन मेटिए पनि कृति र सिर्जना कहिल्यै नमेटिने भन्दै लेखिकालाई निरन्तर लेखनमा सक्रिय रहनसमेत शुभकामना दिएका थिए ।

त्यसैगरी शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले लागु औषध दुव्यर्सन झापा जिल्लाको हकमा सबैको टाउको दुखाइको विषय बनेको भन्दै लेखिकाले यस विषयमा कलम चलाएकोमा शुभकामना दिएका छन् । उनले पुस्तकमा लागु औषध दुर्व्यसनीबाट समाजले भोगिरहेको यथार्थ कथालाई समेटेकोले पुस्तक पढ्नै पर्ने बताएका छन् । कार्यक्रममा साहित्यकारहरू प्रकाश बुढाथोकी, शिवशंकर थापा, केशव आचार्य, बालचन्द्र सुब्बा, कृष्ण बराल तथा शिवसताक्षी नपा वडा नं. ९ का वडा अध्यक्ष डिल्लीलाल फेम्बू लगायतको उपस्थिति रहेको थियो ।

उपन्यासका बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यद्वय मुनाराज सेर्मा र सुमित्रा वाङ्देल ‘चेली’ ले समालोचना प्रस्तुत गरेका थिए । उपन्यासमा समाजमा गहिरिँदै गएको लागु पदार्थ दुरुपयोग र त्यसले निम्त्याएको त्रासदीय अवस्थालाई मार्मिक ढंगमा चित्रण गरिएको बताए । त्यस्तै उपन्यासमा अभिभावकको बेवास्ता, युवामा बढ्दो प्रलोभन, मित्रताको नाममा हुने गलत बाटोप्रतिको आकर्षण, प्रेम प्रस्ताव गर्न सक्ने आत्मविश्वास नहुनुजस्ता जीवन्त सामाजिक यथार्थलाई कथामा उतारेको बताइएको छ ।

कार्यक्रममा सतासी साप्ताहिक खबर पत्रिकाका सञ्चालक समिति अध्यक्ष योगेन लावतीले स्वागत मन्तव्य राखेका थिए भने लेखिका रञ्जिला लिम्बूले उपन्यास लेखाईका क्रममा भोगेका भोगाइ तथा कृतिका सम्पादक सेलिङ केसीले कृतिको यो समाजमा आवश्यकताको बारेमा बोलेका थिए । कार्यक्रममा कवि–साहित्यकारहरू केशव आचार्य, कविता राई ‘गाउँले’, राजकुमार सुब्बा ‘अनिश्चित’, चन्द्र सम्वाहाम्फे, रूमानी कुलुङले कविता तथा गजल वाचन गरेका थिए भने गायक मनिता सुब्बाले गीतकार श्रवण मुकारुङले लेखेका ‘तिमी तारे भिर’ गीत गाएका थिए । साहित्यकार, लेखकहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान मातृ भाषा (साहित्य) सदस्य ‘किसान कवि’ विराट किरातीको अध्यक्षता तथा कवि लीला अनमोलको सञ्चालन रहेको थियो । पुस्तक स्रष्टा पब्लिकेशनले बजारमा ल्याएको हो ।