साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन ‘जाउॅंला कैलाशैमा’ को भिडिओ सार्वजनिक भएको छ । अहिलेका युवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र म्युजिक एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रविन्द्र लामिछाने, प्रतिमा के.सी. र नितु पौडेलको रहेको छ ।
मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडिओमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगर र अनिस थापाको खैंजडी/मादल र रत्न बिकको बाँसुरीको धुन सुन्न पाईन्छ। उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको यस भजनको भिडिओमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रविन्द्र लामिछाने, प्रतिमा के.सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले कलाकारको भूमिकामा साथ दिएका छन् ।
भिडिओ बैंकले निर्माण गरेको यस भजनको भिडिओमा राजेश कुमारको सम्पादकीय भूमिका, सुविन गोदारको छायाङ्कन र पुरुषोत्तम नेपालको सहायक छायाङ्कन रहेको छ । द ल अफिस अप वासु डी फुलारा पी.सी., अमेरिकाको सहकार्यमा उक्त भजन फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । साउन महिना हिन्दू धर्ममा खासगरी भगवान् शिवलाई समर्पित महिनाका रूपमा मनाइन्छ । साउन महिनामा ध्यान, जप, योग, उपवासजस्ता कार्यले आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ। यही कुरालाई मध्यनजर गरि शिव भजन ‘जाउॅंला कैलाशैमा’ सार्वजनिक गरिएको लेखक फुलाराको भनाइ छ । यसअघि युवा लेखक भीष्मराज फुलाराले पुस्तक लेखनको साथै दर्जनौ गीतहरू दर्शक/श्रोता माझ पस्किसक्नु भएको छ । फुलाराकै शब्द रहेको ‘पुतली माया लाम्न हो’ बोलको गीतले यतिबेला बजार तताएको छ ।
