‘उहिलेको माया’ ले चुलियो, गायिका शिलाको चर्चा

-तुलसी गिरी ‘भावुक’

यतिबेला शिला राई र अनिल कोयु राईको युगल स्वरमा रहेको टिपिकल पूर्वेली भाकाको गीत ‘उहिलेको माया’ ले साङ्गीतिक बजार तताएको छ l अनिल राईकै रचना/सङ्गीत रहेको यस गीतमा राजु कार्कीले म्युजिक एरेन्ज/मिक्सिङ्/माष्टरिङ् गरेका छन् भने राजेश पुमा राईको निर्देशन र रोशन बि.क.को कोरियोग्राफीमा भिडिओ छायाङ्कन भएको छ l उत्सव दाहालको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको यस भिडिओमा पशुपति राई, एलिशा राई, बबिन राई र गणेशमान घलेले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l

सुमधुर स्वरले सजिएको यस गीतमा उहिलेको समयको जीवनशैली, जनविश्वास, रहनसहन, ग्रामिण-सांस्कृतिक परम्परा र स्वच्छ-निश्वार्थ प्रेमको मिठासलाई बयान गरिएको छ l ‘उहिलेको माया’ गीतले गायिका शिला राईको ख्यातिमा नयाँ उचाई थपिएको छ, लगभग १८ वर्षे उनको साङ्गीतिक यात्रालाई यो गीतले पुन: सार्थक बनाएको छ l उनका अघिल्ला गीतहरुको लहरमा यो गीतले एउटा गर्विलो स्थान बनाउने छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ l

शिला राईको जन्म पिता चन्द्र कुमार राई र माता शिव कुमारी राईको परिवारमा कान्छी छोरीको रुपमा धनकुटा जिल्लाको, चुम्माङमा भएको हो l सानैदेखि गीत-सङ्गीतमा गहिरो रुची भएपनि गाउँघरमा के नै अवसर हुन्थ्यो र ! न सङ्गीत सिकाउने गुरु न त प्रस्तुति दिने उपयुक्त स्टेज l उकाली-ओराली, घाँस-दाउरा र मेलापातमा गुनगुनाउँदै, डाँडा पाखामा पालाम र हाक्पारे उराल्दै हुर्किएकी शिला म्युजिकमै केही गरौँ भन्ने सपना बोकेर २०६३ मा इटहरी झरिन् र इटहरीका प्रसिद्ध सङ्गीत गुरु भोला राईसँग शास्त्रीय सङ्गीत सिक्न थालिन् l सङ्गीत सिक्दा सिक्दै उनी ‘सङ्गीत सरगम’ नामक स्कूलको संयोजनमा पूर्वका झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा आयोजना हुने विभिन्न मेला-महोत्सवतिर गीत गाउनका लागि जान थालिन् l ‘कार्यक्रमका उद्घोषकले हामीलाई स्थानीय कलाकार र काठमाण्डौबाट आएका कलाकारलाई राष्ट्रिय कलाकार भनेर सम्बोधन गर्थे l त्यस्तो सुन्दा कता कता नरमाईलो लाग्थ्यो l राष्ट्रिय र स्थानीयलाई आयोजकको व्यबहार पनि फरक फरक नै हुन्थ्यो l जिल्लातिरै बस्यो भने त काम छैन रैछ, राष्ट्रिय कलाकार बन्नुपर्ने रहेछ भनेर त्यहीबेला मैले काठमाण्डौ जाने अठोट गरें’ उनी विगतका ती दिनहरु सम्झंदै भन्छिन् l

२०६५ सालमा एउटा बलियो अठोट र आत्मविश्वास बोकेर शिला राजधानी उक्लिन् l हुन त इटहरीमा सङ्गीत सिक्दै गर्दा धरानको एक स्टुडियोमा ज्योति जङ्गलको शब्द र वेदनिधि पौडेलको सङ्गीतमा उनले पहिलो गीत ‘सत्य होला उनीसँग’ रेकर्ड गरेकी थिईन् l त्यो गीत त्यत्तिकै थियो l त्यही भएर उनी गीति एल्बम निकाल्छु भनेरै काठमाण्डौ आएकी थिईन् l यहाँ आएपछि प्रसिद्ध सङ्गीत गुरु गुरुदेव कामतसँग सङ्गीत सिक्न थालिन् र एल्बमको काम पनि बिस्तारै अगाडि बढाइन् l लामो समयको मेहेनत र सङ्घर्ष पछि २०६९ सालमा उनको एकल स्वरको पहिलो आधुनिक गीतको एलबम ‘कस्तो मन’ पारामुन म्युजिक कम्पनीबाट बजारमा आयो l जसमा डा.कृष्णहरि बराल, प्रतिमा श्रेष्ठ र दुर्गालाल श्रेष्ठको गीत तथा महेश खड्का, वसन्त सापकोटा, सुगम पोख्रेल, न्ह्यु बज्राचार्य र वेदनिधि पौडेलको सङ्गीत रहेको थियो l यो एल्बमले उनलाई बेपत्ता हिट नगराए पनि ‘शिला राई भन्ने गायिका पनि छ है’ भन्ने मार्केटमा एउटा आशालाग्दो पहिचान भने स्थापित गरायो l धेरैले उनको स्वरको प्रशंसा गरे र भविष्यमा राम्रो सम्भावना भएकी गायिकाको रुपमा उनलाई चिने l यसैगरि उनले २०७२ सालमा एकल स्वरको दोस्रो एल्बम ‘प्रेम’ सार्वजनिक गरेकी थिईन् l जसमा भूपाल राई, उदय सोताङ र दिलिप श्रेष्ठको शव्दरचना साथै शम्भु राई, उदय सोताङ र डा. किराँतको सङ्गीत रहेको छ l

सङ्गीतज्ञ भोला राई, गुरुदेव कामत र डा. किराँतकी एक असल शिष्य शिलाले आधुनिक, लोक, गजल, भजन, राष्ट्रिय भाव आदि गरि हालसम्म लगभग १५० जति गीतमा स्वर दिएकी छिन् भने थुन्चेको भारी बिसाउँदै, आई लभ यु, सङ्घारमा नटेके, अलिअलि, उहिलेको माया आदि उनका सर्वाधिक लोकप्रिय गीत हुन् l यी मध्ये पनि ‘थुन्चेको भारी’ले उनलाई लोकप्रियता र चर्चाको नयाँ उचाईमा पुर्याएको थियो l साङ्गीतिक प्रस्तुतिकै लागि उनले थाईल्याण्ड, हङकङ, साउदी, भारत र सिंगापुर जस्ता अन्तर्राष्ट्रिय मुलुकको भ्रमण गरिसकेकी छिन् l शिलाले थाइल्याण्डमा आयोजित बक्स अफिस इन्टरनेशनल अवार्ड समेत प्राप्त गरेकी छिन् l

हक्की र प्रष्ट स्वभावकी प्रतिभाशाली गायिका शिला राईको सङ्घर्ष यात्रा चलचित्रको काल्पनिक कथा झैं लाग्छ l मनभरि गीति एल्बम निकाल्ने सपना बोकेर राजधानी छिरेकी शिलाले कत्ति पनि विचलित नभई कहिले दैनिक ७५ रुपैयाँ ज्यालामा भट्टामा ईंटा बोकिन्, कहिले १५ सय महिनावारी तलबमा जाँडरक्सी बनाइन् त कहिले घरेलु कामदारको रुपमा आफूलाई अभ्यस्त गराइन् l अहिले भक्तपुरमा उनको आफ्नै घर छ l दृढ आत्मविश्वास, बलियो ईच्छाशक्ति, धैर्यता, दरिलो अठोट, मेहेनती स्वभाव र इमान्दारिताकै कारण उनी आज यो स्थानसम्म आईपुगेकी हुन् l सङ्घर्षरत धेरै महिलाहरुले उनलाई आज एक साहसी र प्रेरक पात्रको रुपमा चिन्ने गर्दछन् l साङ्गीतिक भलाकुसारीको बिट मार्दै हार्दिकतापूर्वक शिला भन्छिन्- ‘सङ्गीत यात्रामा मैले सम्झनुपर्ने नाम त धेरै छन्, सबै भनेर साध्य पनि छैन l तथापि राजु राई, वुद्धि गुरुङ र राम राईको गुन कहिल्यै भुल्न सक्दिनं l उहाँहरुप्रति म सधैं कृतज्ञ रहने छु l’