‘माता मे भूमिः’ आध्यात्मिक गान सार्वजनिक

– गीता मञ्जुश्री

शब्दसारथि हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध ‘माता मे भूमिः’ नामक आध्यात्मिक गान शब्दयात्रा प्रकाशनद्वारा आयोजित कार्यक्रममा यही असोज ११ गते शुक्रबार सार्वजनिक गरिएको छ । गीतिभास्कर तथा उक्त गानका सुपरिवेक्षक मच्छेश्वर सापकोटाले गानलाई सार्वजनिक गर्नुभएको हो ।

‘माता मे भूमिः’ हरि मञ्जुश्रीको लेखन, सङ्गीत र स्वर रहेको आठौँ आध्यात्मिक गान हो । यसमा उहाँका छोरा सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले स्वरमा साथ दिनुभएको छ । बनेपाको फ्लटर स्टुडियोमा स्वराङ्कन गरिएको यस गानमा बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन रहेको छ । यो गान अथर्ववेदको पृथ्वीसूक्तमा रहेको ‘माता मे भूमिः पुत्रोऽहं पृथिव्याः’ भन्ने ऋचाको भावभूमिमा तयार पारिएको र श्रोतालाई बुझ्न सजिलो होस् भनेर आधुनिकताको पनि मिश्रण गरिएको कुरा हरि मञ्जुश्रीले बताउनुभएको छ ।

यसअघि उहाँका ‘अहम् ब्रह्मास्मि’, ‘अयमात्मा ब्रह्म’, ‘खं ब्रह्म’, ‘तत्त्वमसि’ जस्ता आध्यात्मिक गानहरू प्रस्तुत भइसकेका छन् । उहाँका गानहरूका विषयमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले विस्तृत विवेचना गर्नुभएको छ ।

गानलाई सार्वजनिक गर्ने क्रममा गीतिभास्कर मच्छेश्वर सापकोटाले भन्नुभयो — उमेरले ६ दशक नाघिसकेपछि साङ्गीतिक क्षेत्रमा पाइला राखेर पनि वैदिक मन्त्रहरूका भावार्थलाई वर्तमान समयका श्रोताले बुझ्ने गरी गान लेख्ने, आधुनिक ढङ्गको सुमधुर सङ्गीतको प्रयोग गर्ने र लामो साधना गरेको गायकले जस्तै परिष्कृत गायकीका साथ आफैँले गाउने हरि मञ्जुश्री यिनै कारणले साङ्गीतिक क्षेत्रमा विशेष व्यक्तित्व बन्नुभएको छ । कार्यक्रममा कलाकार, साहित्यकार, पत्रकार, आध्यात्मिक अभियन्ता र समाजसेवीहरूको उपस्थिति थियो ।