‘महको म’ पुस्तक विषयक अन्तरक्रिया भव्यताका साथ सम्पन्न

अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो । गत अगस्त ४ तारिख, शनिबार मेरिल्याण्ड राज्यमा वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए ।

पत्रकार बानियाले मदनकृष्ण श्रेष्ठको बारेमा चर्चा गर्दै विशाल महासागर जस्तो जीवन बाँच्ने व्यक्तिको बारेमा बोल्न पाउँदा गौरवान्वित भएको बताएका थिए । उनले मदनकृष्णलाई मन्चमा बोलाउँदा सबैलाई उठेर उहाँको नाम लिन आग्रह गर्दा दर्शकले एकैसाथ कलाकार मदनकृष्ण श्रेष्ठको नाम लिएका थिए ।

कार्यक्रमको प्रारम्भमा ‘अरबौं मान्छेमा तिमी एक मन मिल्ने मान्छे’ शीर्षकको आफ्नो कालजयी गीत गाएका मदनकृष्ण श्रेष्ठले नेपालमा पनि धेरै ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिदै दशौँ पटक अमेरिका आएको बताएका थिए । मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक पत्रकार प्रेम बानियालाई पढ्न दिइएको थियो भने उनले उक्त पुस्तकबाट केही मुख्य कुराहरुप्रति जिज्ञाशा राखेका थिए । र, त्यसै सेरोफेरोमा उनले अन्तरक्रिया कार्यक्रमको सुरुआत गरेका थिए । कलाकार श्रेष्ठले पत्रकार बानियाको सवालमा ठट्यौलो शैलीमा उत्तर दिँदा दर्शक तथा स्वयम् कार्यक्रम प्रस्तोताले समेत हाँसो रोक्न सकेका थिएनन् ।

कार्यक्रमको प्रारम्भमा उनको पुर्ख्यौली घर जितपुर र उनले बाल्यकाल बिताएको घर सम्वन्धी तयार पारिएको श्रब्य दृश्य प्रदर्शन गरिएको थियो भने पत्रकार बानियाले जितपुरको बाल्यकाल अवस्थाका घटनाक्रम, बाबुले ५ पटक बिहे गरेको हेरेको प्रसङ्ग, ७ कक्षा पढ्दासम्म ९ पटक विद्यालय फेरेको, कर्मचारी संचयकोषबाट आफूभित्र निहित प्रतिभा सुरु गरेको आदि विषयको सेरोफेरोमा केन्द्रित रहेर मदनकृष्णलाई सवालहरु राखेका थिए ।

कार्यक्रम प्रस्तोता बानियाले बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको र ७ कक्षा पढ्दासम्म ९ पटक विद्यालय फेरेको विषय उठान गर्दै हास्य शैलीमा ‘दाइ तपाईले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा किन नाम नलेखाउने ?’ भनि जिज्ञाशा राखेका थिए । साथै जीवनमा भोगेका अनेकौं अविस्मरणीय क्षण, कर्मचारी संचय कोषको वनभोजमा चिनिया शैलीमा दिएको हास्य प्रस्तुति आदि कुराहरु सुनाउँदा दर्शक बेजोडले हाँसेका थिए । त्यसका पृष्ठभूमि समेतको चर्चा गर्दा दर्शकले झनै रमाइलो मानेका थिए । मदनकृष्णले भने- ‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको थिएँ तर मलाई ६ वर्ष लाग्यो ।’ आत्मकथा लेख्न सुरु गरेको बेलामा पत्नीलाई अबुर्द (क्यान्सर ) भएर उपचारतिर लाग्नु परेकाले ‘महको म’ लेखनमा ढिलाई भएको पनि उनले बताए ।

‘महको म’ लेख्दा पार्किन्सन्स रोगले गर्दा निकै कष्टप्रद बनेको उनले बताए । पुस्तकमा श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदा सम्मका उकाली ओराली, अबुर्द (क्यान्सर) रोग को संघर्ष आदि घटनाक्रमहरु समेटिएको छ ।

श्रेष्ठले अन्तरजातीय विवाहमा पनि निकै चर्चा गरेका थिए । यदि यस्तो नगरेको भए आफू यति फराकिलो दायरामा नहुने कुराहरु पनि उनले राखेका थिए । उनले आफ्नो बिहेमा पत्नी ‘यशोदा सुवेदी’को सट्टा निमन्त्रणा पत्रमा ‘यशोदा मैया’ छापिएको समेत चर्चा गरेका थिए ।

प्रेम बानियाले उक्त पुस्तक पढेपछि बिर्सनै नसकिने व्यक्ति भन्दै मदनकृष्ण श्रेष्ठका साथी दिल कुमार श्रेष्ठलाई स्टेजमा बोलाएर केही प्रश्न सोधेका थिए । नेपालमा रहँदा मदनकृष्णसँग मिलेर साँस्कृतिक समूह खोलेका दिल कुमार १९७७ मै अमेरिका आएका थिए ।

कलाकार मदनकृष्ण श्रेष्ठले ५ वटा जति गीत गाएका थिए भने पत्नीलाई सम्झना गर्दै आफू अब हाँसेर जीवन बिताउने बताएका थिए । उनी केही क्षण गम्भीर हुँदा दर्शक पनि गम्भीर तथा भावुक बनेका थिए ।

२७ बर्ष अगाडि डिसी महानगर क्षेत्रमा स्थापना भएको अत्यन्तै क्रियाशील नेवा समुदायको गैर नाफामूलक सामजिक संस्था नेपा पास पुचः अमेरिकाय (एनपीपीए ) ले कार्यक्रमको आयोजना गरेको हो । संस्थाको तर्फबाट अध्यक्ष राजु जोशीले स्वागत गर्दै प्रायोजक तथा सबैलाई धन्यवाद दिएका थिए । यसैगरी मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदुत प्रेमराजा महतले पनि मदनकृष्ण श्रेष्ठको बारेमा केही कुराहरु राखेका थिएकार्यक्रमको सुरुआती संचालन निभा प्रधानले गरेकी थिइन् । सहभागीहरुले कार्यक्रम भव्य भएको प्रतिक्रिया दिएका थिए ।
-विजय थापा, डिसी