पोल्यान्ड र टर्कीमा नेपालको प्रस्तुति उत्कृष्ट

चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल, ढाकाटोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन् तब दशौँ हजार दर्शकको तालीको गडगडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरवान्वित महसुस गर्दछन् l यो दृश्य हालै पोल्यान्ड र टर्कीमा सम्पन्न ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०१८’ को हो ।

पोल्यान्डको दुई छुट्टाछुट्टै लेग्निचा र क्रिनिचा शहरमा जुन २७ देखि जुलाई १३ सम्म सम्पन्न भएको International Folklore Festival “Świat pod Kyczera” साथै टर्कीको चनाकालेमा जुलाई १८ देखि जुलाई २३ सम्म सम्पन्न भएको International folk Dance Festival मा एभरेष्ट नेपाल कल्चरल ग्रुप गौरवमय प्रदर्शन गरी नेपाल फर्केको छ ।

पोल्यान्डमा सम्पन्न अन्तरराष्ट्रिय लोक साँस्कृतिक मेलामा १२ राष्ट्रका १५ टोलीको सहभागिता रहेको थियो भने टर्कीमा सम्पन्न अन्तरराष्ट्रिय लोक साँस्कृतिक मेलामा १६ राष्ट्रबाट २२ साँस्कृतिक समूहले भाग लिएका थिए l त्यस मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोईरालाको संयोजन तथा ग्रुपका निर्देशकहरु शितल आचार्य (सीता) र मिरज कोईरालाको निर्देशनमा गएको थियो । टोलीले मेला अवधिभर नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुति दिएको थियो ।

सो अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्याउरे, तामाङ, झोडा, सतार, शेब्रु, धिमल र सोरठीका साथै दर्जनौ नेपाली साँस्कृतिक नृत्यहरु प्रदर्शन गरेको थियो ।

मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशकहरु शितल आचार्य{सीता), मिराज कोईराला, नृत्यतर्फ रुपिन डङ्गोल, शम्भु शाही, उदिराम खड्का, विधान कोईराला, प्रमिल रिजाल, अनिता अधिकारी, अनिश राना मगर, निसा राना मगर, पुर्नीमाया बजगाई तथा वाध्यबादन तथा गायनतर्फ वरिष्ठ बाँसुरीवादक राम बहादुर भुजेल, गायक राम प्रसाद पाण्डे, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, गायिका रिता बुढाथोकी भुजेल, डेक प्रसाद अधिकारी (गोपाल), प्रदीप गुरुङ र फोटोग्राफर नारायणराज सत्यालले आ-आफ्ना जिम्मेवारी पूरा गरेका थिए । मेलामा सहभागी कलाकारहरुको नृत्य संयोजन उदिराम खड्का र शम्भु शाहीले गरेका थिए भने संगीत संयोजन वरिष्ठ बाँसुरीवादक राम बहादुर भुजेलले गरेका थिए ।

सोही अवसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशकद्वय शितल आचार्य (सीता) तथा मिराज कोईरालाले पोल्यान्ड र टर्कीका बिभिन्न शहरका नगरपालिका प्रमुख तथा उपस्थित सम्पूर्ण महानुभाव तथा कार्यक्रम आयोजकहरुसँग भेटी नेपालमा संस्कृति पर्यटन प्रवर्धन गर्न सकिनेबारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने कुरा जानकारी गराएका थिए ।

कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ भन्ने सम्म थाहा नभएको पाइयो भने सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन् तर कहाँ छ उनीहरुलाई थाहा थिएन र गौतम वुद्ध कहाँ जन्मे सम्म थाहा छैन । नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति मार्फत विश्वभर राजदुतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवास्ता गर्दै आएको छ । कला संस्कृतिलाई प्रवर्धन तथा सम्बर्धन गर्ने कलाकार राष्ट्रका सम्पत्ति हुन् भन्ने कुरा राज्यले बुझ्न जरुरी छ ।