गीतको कुरा गर्ने बित्तिकै गीतकार, सङ्गीतकार र गायक-गायिकाको नाम स्वाभाविकै रुपमा अगाडि आउँने गर्दछ l तर एउटा गीत तयार भएर श्रोता सम्म आईपुग्दा त्यसमा अन्य धेरै व्यक्तिहरुको पनि उत्तिकै महत्वपूर्ण मेहेनत परेको हुन्छ l जसमध्येको एउटा पर्दाभित्रको पाटो हो – वाद्यवादन l म्युजिक ट्रयाक गीतको मेरुदण्ड हो l जसले गीतलाई एउटा निश्चित स्केल, ताल र लयको बाटो निर्धारण गरिदिएको हुन्छ l एउटा गीत सुन्दर हुनका लागि त्यसमा समावेश भएका शब्द, सङ्गीत, स्वर, म्युजिक ट्रयाक, रेकर्दिंग र मिक्सिंगको स्तर लगायतका सबै पक्षको महत्व उत्तिकै हुने गर्दछ l यी मध्ये एउटा मात्र पक्ष फितलो भयो भने गीत सुन्न लायक रहँदैन l
हुन त वाध्यबादकलाई प्रस्तोता भन्ने गरिन्छ l तथापि निर्धारित वाद्यवादनभित्र पनि कलात्मक सिर्जनशीलता हुने गर्दछ l जुन कुरा वाद्यवादकभित्र निहीत साधना र क्षमतामा भर पर्दछ l यस्तै पर्दाभित्र रहेर सिर्जनशील वाद्यवादन गर्ने नेपाली वाद्यवादकहरु मध्येका एक कुशल वाद्यवादक हुन् भुवन गन्धर्व l
नेपाली सङ्गीत क्षेत्रका अग्रज एवं प्रख्यात सारंगीवादक जंग बहादुर गन्धर्वका सुपुत्र भुवन गन्धर्व बाल उमेरदेखि नै बुबाको पछिपछि लागेर स्टुडियो जाने गर्दथे l त्यही बेलादेखि उनको मस्तिष्कमा सङ्गीतप्रतिको गहिरो छाप बसेको थियो l घरमै सांगीतिक माहोल भएका कारण यस क्षेत्रमा आउनका लागि उनले अतिरिक्त सङ्घर्ष पनि गर्नु परेन l हुर्कंदै गएसँगै छोराको इच्छा बुझेका बुबा जंग बहादुरको पनि सपोर्ट भएपछि भुवनलाई वाद्यवादक बन्नबाट छेकबार लाग्ने कुनै बाधा पनि थिएन l प्रख्यात सारंगी वादकका सुपुत्र भएर पनि उनले बाजाका रुपमा भने तबला रोजे l अरुको रुचिको सम्मान गर्ने भावना भएका बुबा जंग बहादुरले पनि उनलाई तबला छाडेर सारंगी समात्ने सल्लाह कहिल्यै दिएनन् l मनबाट रोजेको क्षेत्रमा सहर्ष काम गर्न पाएका भुवन आज ब्यस्त र व्यावसायिक तबलाबादकका रुपमा सङ्गीत क्षेत्रमा स्थापित छन् l
एकपटक बुबाको पछि लाग्दै उनी तत्कालिन रिमा रेकर्दिंग स्टुडियो [हालको प्रिज्म स्टुडियो] पुगेका रहेछन् l कन्ट्रोल रुममा लाइभ बाजा हाल्न बाँकी रहेको म्युजिक ट्रयाक बजिरहेको थियो l अर्को सँगैको कोठामा केही वाध्ययन्त्रहरु थिए l जिज्ञाशु भुवन त्यो कोठामा पसेर ट्रयाकसँगै नक्कल गरेर तबला बजाउन थाले l पटक पटक ट्रयाक बजिसक्थ्यो र पुनः दोहोरिएर बज्थ्यो l ट्रयाक त्यसरी दोहोरिएर किन बजिरहेको छ उनलाई थाहा थिएन l उनी अभ्यासमा मस्त थिए l संयोगले त्यो दिन तबला बजाउँन बोलाईएका वाद्यवादक आएका रहेनछन् l भुवनले बजाएको सुनेर कन्ट्रोल रुमबाट पटक पटक सो ट्रयाक जानाजान बजाईएको रहेछ l ‘मैले पटक पटक बजाएको सुनेपछि बि. बि. दाइ [बि. बि. अनुरागी] ले भित्र बोलाउनुभयो र गीतकै लागि बजाउँन लगाउनुभयो l म मा आश्चर्य र खुशीको कुनै सिमा नै थिएन l जीवनमा पहिलोपटक गीतमा तबला बजाउँन पाएकोमा हर्षले केही देखिन l’ १८ बर्षको ठिटो उमेरदेखि नै व्यावसायिक वादन सुरु गरी करिव ९ हजार गीतमा तवला बजाईसकेका भुवन विगत सम्झँदै भन्छन् l
भुवन सबैजसो तालबाजाहरु उत्तिकै कुशलताकासाथ बजाउँछन् तथापि उनको मुख्य बाजा तबला नै हो l ‘बजाईको तरिकामा केही फरक जस्तो भएपनि ताल बाजाका ताल-बोलहरू उस्तै उस्तै हुन्छन् l तबला बजाउन जान्नेलाई मादल र मादल जान्नेलाई तबला बजाउँन सहज हुन्छ l’ उनी स्पष्ट पार्छन् l आरम्भमा न्हुच्छेमान डंगोलसँग मादलवादन सिकेका भुवनले नेपाल सङ्गीत विध्यालामा जीवन राईसँग तवलाको ज्ञान लिएका हुन् भने उनले रविनलाल श्रेष्ठसँग पनि दिक्षा लिएका छन् l लगभग १० बर्षदेखि व्यावसायिक तवलावादनमा सक्रिय भुवनले बाजा बजाएको पहिलो गीत ‘भन्नु नभाको’ लोकदोहोरी क्षेत्रकै सर्वाधिक हिट मध्येको एक हो भने ‘कुटुमा कुटु, नाईलनको साडी, पूर्व पश्चिम रेल, रुपै मोहनी, यतियति पानी’ आदि चलचित्र गीत पनि सर्वाधिक हिट लिष्टमा परेका छन् l ‘परदेशी, हिम्मतवाली, ठूली, तथास्तु, दर्पण छाया २, कृ, नाइँ नभन्नु ल, लभ यु बाबा, छक्का पन्जा’ लगायतका चलचित्रका हिट गीतमा बाजा बजाएका भुवनले के कति चलचित्र, आधुनिक, भजन, राष्ट्रिय, बाल लगायतका गीतका बाजा बजाए भनेर तीनको नाम यहाँ उल्लेख गर्न सम्भव नै छैन l बर्षौंदेखि सक्रिय रहेपनि, आफूले बाजा बजाएका गीत जतिसुकै हिट भएपनि श्रोता-दर्शकले नचिन्ने अवस्थाको विषयमा जिज्ञाशा राख्दा उनी भन्छन्-‘विधा नै पर्दा पछाडिको रोजेपछि गुनाशो गर्ने कुरा पनि भएन l आफूले बाजा बजाएको गीत बजारमा चल्दा खुशी लाग्छ l यसैमा सन्तुष्ट छु l’
हाल प्रस्तोताको रुपमा गायक-गायिकाले रोयल्टी पाउँन थालेपनि वाद्यवादकहरुले नपाएकोमा उनको गुनाशो रहेको छ l नेपाली सङ्गीतलाई कसरी माथि उठाउने भन्ने कुरामा वाद्यवादकहरु पनि चिन्तनशील रहनुपर्ने कुरामा जोड दिँदै उनी भन्छन्-‘वाध्यवादकहरुको काम बजाउने मात्र होईन, नयाँ कुराको खोजी, अध्ययन र अनुसन्धान पनि गर्नुपर्दछ l अहिले प्रविधि र टेक्नोलोजीसँग हरेक श्रोता भिजिरहेका हुन्छन् र उनीहरुको रुचिमा पनि परिवर्तन भईरहेको हुन्छ l हामीलेआफ्नो पन र मौलिकतालाई जोगाउँदै नयाँ पनको स्वाद दिन सक्नुपर्छ l’ सङ्गीतका लागि आफूले पनि धेरै तपस्या र त्याग गरेको बताउँदै नव प्रवेशीहरुलाई लहड या रहरले मात्र सङ्गीतका कुनैपनि विधामा सफलता प्राप्त नहुने सुझाव दिन्छन् उनी l नेपाली सङ्गीत क्षेत्रका एक अमर वाद्यवादकका सुपुत्र भुवन, जसले बुबाको ख्यातिको बिंडो मात्र थामेका छैनन् खानदानको गौरवलाई अझ उचो बनाउने समेत काम गरेका छन् l तबलावादनमा पनि सिर्जनशीलता हुने धारणा राख्दै उनी अगाडि भन्छन् – ‘लक्ष, त्याग र अनुशासन भएन भने सफलता चुम्न कठिन हुन्छ l’