मेरा लागि गीत

-डा. ऋषि बस्ताकोटी 


मेरो पुस्ता रेडियोमा नारायणगोपाल, तारादेवी, भक्तराज आचार्य र अरुणा लामाका गीत सुनेर हुर्कियो ।  सामाजिक परिवर्तनमा  चासो राख्ने  युवाहरुले भने मौका मिलेसम्म  खुशीराम पाख्रिन, जीवन शर्मा, जेबि टुहुरे आदिका गीत पनि सुने ।  त्यतिबेला  जस्ता गीत सुनियो,  गीत सम्बन्धी  त्यस्तै छाप पर्यो । ‘गीत भनेको  सुन्ने हो,  गहिराइमा  डुबेर अर्थ लगाउँदै आनन्द मान्ने हो,  सङ्गीतमा रम्ने  हो, अर्थको  गाम्भीर्यमा हराउने हो’  सायद गीत सम्बन्धी मेरो पनि बुझाइ यस्तै रह्यो। कतिपय गीतहरू सुन्दै जाँदा आफू पनि कुनैदिन यस्तै गीत लेख्न  पाए  हुन्थ्यो भन्ने लोभ बाल्यकालदेखि नै लागिरह्यो । साहित्यका विविध विधाहरुमा अभ्यास गर्दै जाँदा  त्यति नै बेलादेखि सायद  गीत लेख्न पनि थालियो होला । 

मैले गीत भनेर आफ्नो पहिलो रचना कहिले गरें, ठ्याक्कै हेक्का छैन l  यद्यपि हृदयका कोमल भावनाहरुलाई अभिव्यक्त गर्नपर्दा अन्य विधाभन्दा गीत विधालाई रोजेर अभिव्यक्ति दिन  थालेको हुँ ।  सायद पचासको दशकको सुरुतिरबाट मैले गीत लेख्न र प्रकाशित गर्न थालें l यद्यपि आफू गीतकार नै भएँ भन्ने  चाहिँ अझै लाग्दैन ।  सिक्ने क्रम जारी नै छ । मेरा गीतमा  सङ्गीतबद्ध गरेर रेकर्ड गर्ने काम चाहिं सन् २०१४  तिर मात्र गरेको हो। त्यसपछि लेखन-प्रकाशनका अलावा मेरा  गीत गजलहरू रेकर्ड भएर आइरहेका छन् ।  गीत मुख्यतः सङ्गीत र गायनबाटै खुट्टिने विधा हो l यद्यपि लेखिएका सबै गीत गाएर रेकर्ड हुनैपर्छ भन्ने पनि होइन ।  तर खास किसिमको लय र सङ्गीत व्यवस्थासँग भने गीतका शव्दहरू आवद्ध हुनैपर्छ l त्यसैले एउटा निश्चित लय विधानमा रहेर अन्तरमनका भावनालाई सरल र कोमल रुपमा प्रस्तुत गर्नुपर्दा म साहित्यका अन्य विधाहरु भन्दा गीत लेख्न प्रयास गर्छु । 

एउटा लेखकका हिसाबले मेरा लागि गीत अन्तरमनका छट्पटी,  पीडा, खुसी ,आबेग, संवेग आदि सरल र सुललित  रुपमा अभिव्यक्त गर्ने माध्यम हो ।  एउटा श्रोताका हिसाबले मेरा लागि  गीत सङ्गीतमा झङ्कृत हुँदै सुन्ने र  शव्दको भावमा डुबेर हराउने विधा हो। यसरी नै  गीत सुन्दै, गीत बुन्दै  हुर्केको म र मेरो पुस्ता अहिले प्रविधिको विकाससँगै फरक मोडमा आइपुगेको छ ।  अहिले आएर गीत सुन्ने विधाबाट हेर्ने विधामा रुपान्तरित भएको छ ।  कला र सिर्जनाभन्दा पनि व्यापार र व्यवसायमा रुपान्तरित हुँदैछ ।  प्रविधिको  पहुँचले गर्दा धेरै स्रोता-दर्शकसम्म त गीत सजिलै पुगेको छ l यद्यपि एउटा कालजयी  सिर्जनाले माग्ने कलापक्ष भने विस्तारै गौण बन्दै गएको हो कि ! जस्तो भान हुन थालेको छ । यसैले सिर्जनामा प्रविधिको कुशल प्रयोगमा सचेत हुनुपर्ने बेला आएको छ। 

एउटा सर्जकको नाताले मलाई गीतको शब्दरचना  सिङ्गै गीत सिर्जनामा  ‘भ्रुण’ सरह हो झैँ लाग्छ ।  जसरी एउटा  जीवनमा भ्रुणको केन्द्रीय भूमिका हुन्छ, जसरी जीवनका धेरै कुराहरु भ्रुणले नै निर्धारण गर्छ l त्यसैगरी एउटा गीत सिर्जनामा पनि शब्द रचनाले प्रथम र अहम् भूमिका खेलेको हुन्छ । सङ्गीत, गायन र अभिनय भनेका शब्दरचना पछि थपिँदै जाने गीतका अवयवहरु हुन् ।  यद्यपि राम्रो गीत बन्न सबै पक्षको सन्तुलन  र संयोजन भने जरुरी हुन्छ ।  एउटा गीत निर्माणको  क्रममा गीतकार जहिले पनि जग हो जस्तो लाग्छ l जुन जमिनमुनि हुन्छ  तर घर बलियो बनाउन जग बलियो नभई हुँदैन ।  यद्यपि आँखामा पर्ने बेलामा छाना, भित्ता र झ्याल ढोका जस्ता बाहिरी संरचना र सजावटमा मात्रै धेरैको आँखा पर्छ l तर निर्माणलाई बलियो बनाउन सबै पक्षमा सन्तुलित ध्यान पुग्नैपर्छ । 

गीत कस्तो हुनुपर्छ भन्नेबारे लेखक, सङ्गीतकार, गायक, अभिनय गर्ने कलाकार, प्राविधिक, श्रोता, दर्शक सबैको आ-आफ्नै प्राथमिकता हुनु स्वाभाविकै हो । अन्तरमनका अनुभूतिहरुलाई आक्कलझुक्कल अभिव्यक्त गर्ने  एउटा शौखिन लेखकको हिसाबले भन्नुपर्दा मनभित्रका खुसी, पीडा,  उकुसमुकुस सरल तरिकाले अभिव्यक्त गर्न सकियो भने, त्यो लेखनले एउटा सुललित लय आफैभित्र माग गर्यो भने लेखनको हिसाबले गीतमा आफूलाई चित्त बुझ्छ ।  छापिएपछि  गीत पाठकहरू समक्ष पुग्छ l सङ्गीत भरेर गाइएपछि गीत  श्रोताहरू समक्ष  पुग्छ ।  पढेपछि पाठकका मनमा बस्यो  भने,  सुनेपछि स्रोताले गीत पछिसम्म सम्झे भने सायद मेरो लागि गीत लेखनको अभीष्ट पूरा भएको हुनेछ ।  व्यावसायिक गीतका  मापदण्ड भिन्दै होलान् l तर शौखिन गीतकारका लागि गीत जसरी पनि चल्नुपर्छ या चलाउनुपर्छ भन्दा पनि मनका उकुसमुकुसहरुलाई सरल तरिकाले लयबद्ध हुनेगरी अभिव्यक्त गर्न सकियो भने, पढेपछि पाठकले र सुनेपछि श्रोताले यो सिर्जना पनि छ है भनेर पछिसम्म याद गरे भने आफूलाई लेखनका हिसावले सन्तुष्टि मिल्छ । गीतका आ-आफ्नै परिवेश र लक्षित बर्ग हुन्छन् ।  लेखिएका, गाइएका सबै गीतहरूबाट उत्तिकै सन्तुष्टि  मिल्छ भन्ने पनि  हुँदैन ।  एउटा  लेखकको हिसावले आफूलाई पूर्ण सन्तुष्टी हुने सिर्जना भने अझै गर्न बाँकी नै  छ । 

{गोरखाको आँपपिपलमा जन्मेर हाल अमेरिकाको नर्थ क्यारोलाइना निवासी  बस्ताकोटी  पेशाले वातावरणीय नीति विज्ञ हुन् ।  उनी पचासको दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन् ।  कविता, गजल, गीत, मुक्तक उनका सिर्जनाका मुख्य विधा हुन् । दर्जनभन्दा बढी साहित्यिक पुरस्कारबाट पुरस्कृत बस्ताकोटीका एक गजलसङ्ग्रह प्रकाशित छ ।  उनले केही साहित्यिक प्रकाशनहरुको सम्पादन समेत गरेका छन् । नेपालका विभिन्न सङ्गीतकार र गायक गायिकाहरूसँगको सहकार्यमा उनको एक गीति एल्बम  र केही फुटकर गीत गजलहरू रेकर्ड भएका छन् । }

{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }