-तुलसी गिरी ‘भावुक’
धेरै वर्षको अन्तरालमा एउटै कक्षामा पढेका, हरेक वर्ष स्कूल प्रथम भइरहने मेधावी साथी डम्बरु वल्लभ कट्टेलसँग केहीदिन अघि भेट भयो । सिलसिला थियो गीत-सङ्गीतको। त्यही भेटमा साथी डम्बरुका पिता स्व. झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे – एक भुइँमान्छे’ पनि प्राप्त गरें । केही समय अघि मात्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा ‘झनकप्रसाद खीनमाया कट्टेल समाज कल्याण प्रतिष्ठान’द्वारा झापाको काँकरभिट्टामा आयोजित कार्यक्रममा सो पुस्तकको लोकार्पण भएको थियो। डम्बरु वल्लभकै अध्यक्षतामा स्थापित यस प्रतिष्ठानले स्थापना भएको छोटो समयमै दीर्घकालीन योजनाहरुका साथ सूचना प्रविधि एवं शैक्षिक पूर्वाधारको क्षेत्रमा सराहनीय काम गरिरहेको देखिएको छ ।
स्व. झनकप्रसाद कट्टेलका दुई छोरा वेदप्रसाद र डम्बरु वल्लभले माता पिताको संयुक्त नाममा स्थापना गरेको यस प्रतिष्ठानले खासगरि मेचीनगर क्षेत्रमा सूचना–प्रविधि ज्ञानको विस्तार गर्ने, विद्यालयस्तरका विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानतर्फ आकर्षित गर्ने, अध्ययनरत विद्यार्थीहरुलाई सूचना–प्रविधि उद्योगसँग नजिक्याउन विज्ञहरूसँग अन्तर्क्रिया र स्थानीय समुदायमा डिजिटल साक्षरता अभिवृद्धि गर्नुका साथै सामुदायिक विद्यालयहरूसँग सहकार्य गर्दै सरकारी तथा स्थानीय निकायले पूर्ति गर्न नसकेका पूर्वाधार, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप विकासको क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेको थाहा भएको छ ।
‘झनकप्रसाद खीनमाया कट्टेल समाज कल्याण प्रतिष्ठान’ले प्रकाशन गरेको स्मृतिग्रन्थ ‘झनकबाजे – एक भुइँमान्छे’ पुस्तकको सम्पादन डम्बरु वल्लभ कट्टेलले र भाषा सम्पादन दामोदर ढुङ्गेलले गरेका छन् । २८७ पृष्ठको यस पुस्तकको मूल्य रु. ५०० राखिएको छ । पुस्तकमा आत्मकथा, स्मृतिसङ्ग्रह, वंशावली र तस्बिर सङ्ग्रह गरि चार खण्ड छन् । बाल्यकाल, कुल वंश, गृहस्थी प्रवेश, मधेशको दु:ख, दोस्रो घरबार, मुगलानको यात्रा, झापा फिर्ती, कृषि फर्म, घर परिवार, छोराछोरीको शिक्षा दीक्षा, समाज सेवा, डकैतीको भोगाइ, निर्वाचित वडाध्यक्ष, पर्यटन तथा तीर्थयात्रा, विदेश भ्रमण र अन्तिम मोड – बिर्तामोड गरि १६ शीर्षकमा रहेको पहिलो खण्ड (आत्मकथा) मा जन्म, पारिवारिक पृष्ठभूमि, बाल्यकाल, बिबाह, मधेश झरेपछिका सङ्घर्ष र सफलताका कथाका साथै जीवनका उत्तरार्धसम्मका घटनाहरु समेटिएका छन् ।
४-५ माना चामल र २ रुपैयाँ बोकेर २०१४ सालमा इलामबाट झापा झर्नुभएका झनकप्रसादले दानाबारी, शनिश्चरे, दूधबारी, भद्रपुर, गिजनखाडी, आसाम र पुन: नेपाल हुँदै गर्नुभएका अविरल कर्म र भोग्नुभएका घामपानीहरु कथामा वर्णन गरिएको छ । आफू सामान्य लेखपढ गर्ने भएपनि शिक्षाको महत्व बुझ्नुभएका दूरदर्शी झनकबाजेले सामाजिक र शैक्षिक क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय छ भन्ने कुरा पुस्तकको पहिलो खण्डबाट थाहा हुन्छ । आर्थिक रुपमा आफूले खुट्टा टेक्न थालेपछि धेरै आफन्तहरुको व्यवस्थित बसोबासका लागि पनि उहाँले जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुभएको कुरा समेत पहिलो खण्ड पढेपछि बुझ्न सकिन्छ । आजभन्दा ६-७ दशक अगाडिको जनजीवन, मानिसहरुको दैनिकी, सपना र सङ्घर्षहरु कस्ता हुन्थे भन्ने कुरा पनि पुस्तकले छर्लङ्ग पारेको छ । जुन कुरा अहिलेको डिजिटल पुस्तालाई कथा जस्तो लाग्न सक्छ ।
पुस्तकको दोस्रो खण्डमा झनकबाजेलाई सम्झेर लेखिएका ९६ जनाका स्मृतिहरु छन् । यी लेखहरूबाट ‘बाजे’ का बहुआयामिक व्यक्तित्व, परोपकारी स्वभाव र उहाँले गर्नुभएका महत्वपूर्ण सामाजिक कामहरुको बारेमा गहिराईबाट थाहा हुन्छ । ९६ मध्ये ४३ स्मृतिहरु कुराकानीका आधारमा पुस्तकका सम्पादक डम्बरु वल्लभ स्वयंले लेखेका छन् । आफैं लेख्न सक्ने मान्छेहरुले समेत लेख्न अल्छी गरेको देखिन्छ । झनकबाजेको स्वर्गारोहण भएको ४ वर्षपछि यो पुस्तक प्रकाशन भएको हो । त्यसोभए आत्मकथा कसरी सम्भव भयो ? प्रश्न स्वाभाविकै रुपमा उठ्न सक्छ । झनकबाजेका कान्छा सुपुत्र डम्बरु वल्लभले आफ्ना बुबासँग गरेको कुराकानीको आधारमा ‘आत्मकथा’ सम्भव भएको पुस्तकबाटै थाहा हुन्छ । डम्बरु वल्लभले सम्पादन, लेख रचना सङ्कलन, आत्मकथा तथा ४३ स्मृति लेखन लगायतका काम एक्लैले गरेका छन् । उनको दूरदर्शिता र मेहेनतले नै यो पुस्तक सम्भव भएको प्रष्टै छ । पुस्तकको तेस्रो खण्डमा कट्टेलहरुको उत्पत्ति, प्रकार र फैलावटबारे छोटो लेख प्रस्तुत गरिएको छ भने चौथो खण्डमा पारिवारिक तस्बिरहरु छन् । यो पुस्तक झनकबाजेका भावी पुस्ताका लागि एउटा अमूल्य र प्रेरक ग्रन्थको रुपमा रहने छ भने उहाँले गर्नुभएका योगदानलाई पनि यसले सदियौंसम्म जीवितै राख्ने छ ।
