देवी घिमिरेको ‘मनझोली’ उपन्यासको लोकार्पण

गीत, गजलमा कलम चलाउँदै आएकी देवी घिमिरेको नयाँ कृति ‘मनझोली’ उपन्यास लोकार्पण भएको छ । उपन्यास समाज, नेपालको आयोजनामा भएको एक कार्यक्रममा प्रा.डा. हेमनाथ पौडेल, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, साहित्यकार टी.एन. भट्ट `विश्वामित्र´, निमग्ना घिमिरे लगायतले लोकार्पण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.पौडेलले साहित्य लेखनमा समाजमा अनेक विषयवस्तु भएको भन्दै ती कच्चा सामग्रीबाट जे पनि बनाउन सकिने बताए । उनले उपन्यासका माध्यमले बुबाआमाको जीवनसँग सम्बन्धित कथावस्तुलाई आख्यानीकरण गरिएको बताए । उनले उपन्यासको कथावस्तु र शीर्षक मौलिक भएको पनि बताए । श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रा.डा.गोविन्दराज भट्टराईले भनेको कुरा उद्दृत गर्दै भने , ‘उपन्यास नलेखी साहित्यकार हुन सकिँदैन । उपन्यास पठनीय छ । यथार्थको सन्निकट छ ।’

समीक्षक सन्तोष श्रेष्ठले बालविवाह, नारी पीडा लगायतको चित्रणले रुपमती जस्तो लाग्छ । उपन्यासमा बसाईंसराईको कथा हेर्दा लिलबहादुरको बसाइँ जस्तो, अनि मुलुक बाहिर जस्तो लाग्ने कृति जीवन दर्शन, मानवता आदि हेर्दा शिरीषको फूल जस्तो लाग्ने बताए । कृतिमाथि समीक्षा गर्दै टी.एन. भट्टले भने, ‘छोरीले उपन्यासको माध्यमबाट आफ्ना आमाबुबाको अनुभव र संघर्ष तथा भोगाइलाई पर्गेलेर लेखिएको उपन्यास पठनीय छ ।’ उनले भने- ‘उपन्यासले सामाजिक यथार्थलाई आत्मसाथ गरेको दाताराम र नरमायाको संघर्षको कथा हो उपन्यास ।’

अर्का समीक्षक निमग्ना घिमिरेले आजभन्दा असीवर्ष अघिदेखिको समाजको चित्रण उपन्यासले गरेको बताइन् । उनले उपन्यास यथार्थपरक रहेको कुरामा जोड दिइन् । उनले मानव जीवनको पारिवारिक जीवनको सत्यापन उपन्यासले गरेको भन्दै बहुल पात्र, विभिन्न स्थान र परिवेशको चित्रण गर्न उपन्यास सफल भएको बताइन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव लिलादेवी गर्तौला, उपन्यासकारका बयोबृद्ध पिता दाताराम घिमिरे, बन्धुराज शर्मा घोरासाइने, प्रकाश तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । हालसम्म आधा दर्जन गीत समेत रेकर्ड गरेकी उपन्यासकार देवी घिमिरेले आफ्नो साहित्यिक लेखनी यात्राको बारेमा जानकारी दिंदै उपन्यास लेख्न पाँच वर्ष लागेको बताइन् । उपन्यासकार देवी घिमिरेले ‘आज मेरो लागि विशेष दिन, मेरो ५ वर्षको प्रयासले आज सार्थकता पाएको छ’ भन्दै खुशी व्यक्त गरिन् । उपन्यास समाज, नेपालका अध्यक्ष शंकर भारतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन देवी पराजुलीले गरेकी थिईन् ।