दार्जिलिङकी अग्रज साहित्यकार तथा गीतकार चन्द्रमित लक्समलाई गीतकार संघ नेपालले अभिनन्दन गरेको छ । संघले काठमाडौंस्थित आफ्नै कार्यालयको सभाहलमा एक कार्यक्रम आयोजना गरी लक्समलाई सम्मान गरेको हो ।
कार्यक्रम गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा तथा संघका सल्लाहकार वरिष्ठ गीतकार एवं पूर्वअर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
दार्जिलिङको पाँचकोठीमा सन् १९४२ मा जन्मिनुभएकी लक्समले गीत, कविता, अभिनय र उद्घोषण विधामार्फत नेपाली भाषा-साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँका ‘फूल फुल्न नदेउ मलाई’, ‘लैजाउ कतै समाल’ लगायतका गीत मन पराइएका छन् । उहाँका गीतमा कर्म योञ्जन, अशोक राई, वसन्त क्षेत्री, गगन गुरुङलगायतले संगीत भर्नुभएको छ भने प्रेमध्वज प्रधान, अरुणा लामा, कुमार सुब्बा, लोचन भट्टराई, डेजी बराइली र पवन गोलेजस्ता गायक–गायिकाले स्वर दिनुभएको छ ।
अभिनन्दन ग्रहण गर्दै साहित्यकार लक्समले गीतकार संघ नेपालप्रति आभार व्यक्त गर्दै सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउनुभयो । उहाँले नेपाल र नेपाली भाषा-साहित्य भूगोलभन्दा माथि रहेको उल्लेख गर्दै यस्तो सम्मानले थप ऊर्जा मिलेको भनाइ राख्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि एसपी कोइरालाले दार्जिलिङ नेपाली भाषा-साहित्यको उर्बर भूमि भएको उल्लेख गर्दै चन्द्रमित लक्समको योगदान अनुकरणीय रहेको बताउनुभयो । उहाँले गीतकार संघ र दार्जिलिङबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै गीत, संगीत र साहित्यमा योगदान दिने स्रष्टालाई सम्मान गर्नु संघको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष वसन्त वित्यासी थापाले अग्रज साहित्यकार लक्समलाई अभिनन्दन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले दार्जिलिङ नेपाली भाषा-साहित्य तथा गीतसंगीतको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै लक्समको योगदानको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष रमेश कोइरालाले गर्नुभएको थियो ।














