-सानु श्रेष्ठ
जापानको क्योतो शहरमा जन्मभई हाल चितवनको भरतपुर–९ की स्थानीय रिहाना गैरे भरतपुर ७ स्थित अंकुरम एकेडेमीको कक्षा १० मा अध्ययनरत छात्रा ‘स्टुडेन्ट अफ द इयर’ को टप फाइभभित्र पर्न सफल भएकी छन् । मार्सल आर्टस् ‘कराँते’मा विशेष दख्खल राख्ने ‘ब्ल्याक बेल्ट’ उनी अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय छिन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते, आइक्यु, नृत्य, खेलकुद र अन्य विविध कौशलहरू प्रदर्शन गरी देशभरिबाट ‘टप फाइभ’मा चयन हुन सफल भएकी हुन् ।
अभिनेता राजेश हमाल, नायिका रेखा थापा र युवा वैज्ञानिक आरिफ शेख निर्णायक मण्डलको ‘जजमेन्ट’ २० प्रतिशत र ८० प्रतिशत अनलाइन भोटिङका आधारमा विजेता तय हुने छ । बहुप्रतिभाशाली छात्रा रिहाना गैरेलाई खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था छ । उनलाई मोबाइलमा खल्ती एप खोलेर प्रतियोगी नम्बर १५ की रिहाना गैरे चयन गरी भोट गर्न सकिन्छ ।
हिमालयन टिभीमार्फत प्रसारण भइरहेको सो रियालिटी शोमा १३ वर्षदेखि २१ वर्षसम्मको उमेर समूहका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी रहेका थिए । विजेताले नगद पुरस्कार पाँच लाख र पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् भने इभा गिरीले उक्त रियालिटी शोलाई सहजीकरण गरिरहेकी छिन् ।














