डा.नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ । यो उनको चौथो महाकाव्य हो । लम्सालका चार महाकाव्य, तीन कवितासङ्ग्रह र दुई गीतसङ्ग्रह सहित नौ पुस्तक प्रकाशित छन् । नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यबाट २०७८ सालको मदन पुरस्कार विजेता साहित्यकार हुन् । पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयं भएर संयुक्त रूपमा कल्प सार्वजनिक गरेका थिए ।
यसअघि कर्ण, धरा र अग्नि तीन महाकाव्य प्रकाशित गरिसकेका लम्सालको यो महाकाव्यलाई प्रतीक्षाका साथ हेरिएको थियो । पुस्तक विमोचन अघि नै पुस्तक आउँदै गरेको समाचारले नेपाली मिडियामा यसरी ठाउँ पाउनुले महाकाव्यप्रति नेपाली पाठक र मिडियाको आकर्षण बढेको देखाउँछ । उच्चस्तरको चिन्तनलाई सहज र सरल भाषामा लेख्ने उनको विशेषता पनि यसको कारण हो । महाकाव्य लेख्नैका लागि रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैंले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन् । लम्साल समकालीन लेखकहरूमा तुलनात्मक रुपमा अध्ययनशील, गम्भीर र पूर्वीय दर्शनको गहिरो जानकार मानिन्छन् । यसलाई उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको महाकाव्य मानिएको छ । उनलाई नेपाली महाकाव्यको पुनर्जागरण युगको नेतृत्व गरेको जस जाने गरेको छ ।
