गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वरमा तयार भएको तिज गीत ‘नखरा’ ले युट्युबमा श्रोता/दर्शकको उल्लेखनीय साथ पाएको छ। करिब दुई हप्ता अघि सार्वजनिक गरिएको यस गीतले छोटो समयमै राम्रो प्रतिक्रिया बटुल्दै राम्रो स्थान बनाउन सफल भएको छ। गीतले पाएको लोकप्रियतापछि गायक आलेले राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै दर्शक, श्रोता तथा सहयोगीहरूलाई आभार व्यक्त गरे। सो अवसरमा गीत र भिडिओमा संलग्न कलाकार तथा प्राविधिकलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।
‘ढलें ढलें’ बोलको गीतबाट चर्चामा आएकी गायिका शान्तारानी र सम्भावनाशील गायकका रूपमा स्थापित श्रीकृष्ण आलेको दमदार स्वरमा तयार ‘नखरा’ मा रविन शाहको शब्द/सङ्गीत, बिमल छिनालको म्युजिक एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ। भिडिओमा मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय देख्न सकिन्छ। छमछम नचाउने शैलीको यस गीतको कोरियोग्राफी र निर्देशन पनि रविन शाहकै रहेको छ। निर्देशक शाहले तिजमा महिलाहरूको ‘नखरा’लाई रमाइलो ढङ्गले प्रस्तुत गरेका छन्। मोडल जुना र सरितालाई उनले बोल्ड लुक्समा प्रस्तुत गरेका छन् भने उनीहरूको हट अवतार र ड्रेसअपले भिडिओलाई अझ आकर्षक बनाएको छ।
राजेश घिमिरेको छायाङ्कन तथा दीपक विष्टको सम्पादन र कलरिङले भिडिओलाई थप आकर्षक बनाएको छ। भिडिओ गायक श्रीकृष्ण आलेकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
