अन्तर्राष्ट्रिय युवा दिवस-२०२५ को अवसरमा विश्वव्यापी शान्ति महासङ्घअन्तर्गत युनिभर्सल पीस फेडरेशनले ‘शान्तिको लागि राजदूत’ अवार्डले गीतकार वसन्त वित्यासी थापालाई सम्मान गरेको छ । नेपालका बाजे पुस्तादेखि नाति पुस्तासम्मका अधिकांश गीतकारहरूको छाता संस्था गीतकार सङ्घ नेपालको कार्यसमितिमा सदस्य, सचिव, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भई हाल दोस्रो कार्यकालको लागि अध्यक्षको रूपमा नेतृत्व गरिरहेका थापालाई विभिन्न सङ्घ संस्थामा आबद्ध रहेर सामाजिक कार्यका साथै गीतकारहरूको नैतिक र आर्थिक अधिकार स्थापना तथा पहिचानका लागि निरन्तर क्रियाशील रहे बापत काठमाडौंस्थित पिस एम्बेस्सी भवनमा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा आयोजित समारोहमा ‘शान्तिको लागि राजदूत’को सम्मान अर्पण गरिएको हो ।
नेपाली साहित्यको ज्येष्ठ विधा गीत लेखनमा २०४२ सालदेखि सक्रिय थापाका सातवटा गीति एल्बम तथा एक गीत पुस्तकसङ्ग्रह प्रकाशित छन् भने दुईवटा गीति एल्बम तथा एक गीत पुस्तकसङ्ग्रह प्रकाशोन्मुख छन् । उनका २०० भन्दा बढी गीत लिपिवद्ध छन् भने १०० भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् ।
