शब्दयात्रा प्रकाशनबाट नयाँ भजन प्रस्तुत

– गीता अधिकारी
शब्दयात्रा प्रकाशनले आजदेखि अक्षरधाम यु–ट्युब च्यानलमार्फत ‘गुरुमहिमा’ नेपाली भजन साङ्गीतिक बजारमा प्रस्तुत गरेको छ । उक्त भजन आज साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । भजनकार सकुल थापा र गायिका रश्मि हुमागाईंले संयुक्त रूपमा उक्त भजन सार्वजनिक गर्नुभएको हो । आध्यात्मिक एवम् सामाजिक व्यक्तित्व तथा लेखक सकुल थापाको लेखन रहेको भजनमा रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीले स्वर दिनुभएको छ । उहाँहरू दिदीभाइ हुनुहुन्छ ।

कार्यक्रममा ‘गुरुमहिमा’ को ‘म्युजिक भिडिओ’ प्रस्तुत गरिएको थियो । भजनका सङ्गीतकार हरि मञ्जुश्री हुनुहुन्छ भने गीतिभास्कर मच्छेश्वर सापकोटाले भजनकोे सुपरिवेक्षण गर्नुभएको छ । कार्यक्रममा भजनका शब्द, सङ्गीत, स्वर र गायकीका विषयमा विश्लेषण गर्दै शब्दयात्रा प्रकाशनबाट उच्च स्तरको भजन तयार भएको कुरा बताइएको थियो ।