२१२औँ भानु जयन्तीको अवसरमा ‘भानु साहित्यिक प्रतिष्ठान’ काँकरभिट्टाले आयोजना गरेको ‘मेचीनगरस्तरीय क्याम्पस तथा विद्यालय खुल्ला कविता वाचन प्रतियोगिता’ मा विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता एवं दुर्गा प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा काँकरभिट्टा बहुमुखी क्याम्पसको सभा हलमा आयोजित सो कार्यक्रममा स्रष्टाहरु नगद राशि र सम्मानपत्रबाट सम्मानित भएका थिए ।
समारोहमा काँकरभिट्टा स्थायी बसोबास भई हाल अमेरिकालाई कर्मथलो बनाईरहेका वैज्ञानिक लक्ष्मण मैनालीलाई ‘विशेष सम्मान’, काँकरभिट्टाकै साहित्यकार केसाङ लामालाई ‘साहित्य तथा कला सम्मान’ र धुलाबारीका साहित्यकार पर्शुराम तिम्सिनालाई ‘हेमराज मैदानी प्रसाद खरेल साहित्य पुरस्कार’ द्वारा सम्मानित/पुरस्कृत गरिएको थियो।
समारोहमा पत्रकार एवं सङ्गीतकार चन्द्र भण्डारीले वैज्ञानिक लक्ष्मण मैनालीको परिचय गराएका थिए भने विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूबीच भएको कवितावाचन प्रतियोगितामा प्रथमदेखि सान्त्वना पुरस्कार प्राप्त गर्ने चारजना छात्र छात्राहरूलाई चन्द्र भण्डारीको हातबाट पुरस्कार वितरण गरिएको थियो। सो अवसरमा आख्यानकार पुण्य प्र.खरेलले आदिकवि भानुभक्तका कृति र साहित्यिक व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए । आयोजक संस्थाका महासचिव लक्ष्मी उप्रेतीद्वारा सञ्चालित सो कार्यक्रममा सुशील आचार्यले अतिथिहरुको स्वागत गरेका थिए भने कवि गोष्ठीको कार्यक्रम जय प्रसाद आचार्यले गराएका थिए। उक्त अवसरमा भानुभक्तको भेसमा उपस्थित भएका केन्द्र प्रसाद भट्टराई विशेष आकर्षणको केन्द्र बनेका थिए ।
