-तुलसी गिरी ‘भावुक’
चलचित्र अभिनय एवं म्युजिक भिडिओ मोडलिङमा व्यावसायिक पाइला अघि बढाईरहेकी प्रतिभाशाली कलाकार मिशेल घिमिरेको नयाँ म्युजिक भिडिओ ‘मायाका मिठा कुरा’ सार्वजनिक भएको छ l मधुसुदन घिमिरेको शव्द, उज्ज्वल सागरको सङ्गीत र विश्व अधिकारीको म्युजिक एरेन्ज एवं माष्टरिङ रहेको प्रेमिल/रोमान्टिक भावको यस युगल गीतमा अस्मिता अधिकारी र आकाश आचार्यले स्वर दिएका छन् भने भिडिओमा गायक आकाश स्वयं रोमान्टिक हिरोको रुपमा मिशेलको प्रेमी बनेर आएका छन् l
निर्मल पौडेलको निर्देशन एवं कोरियोग्राफीमा छायाङ्कन भएको यस म्युजिक भिडिओका सिनेमाटोग्राफर विवेक खड्का हुन् l भिडिओको सम्पादन भीम विश्वकर्माले गरेका छन् l एकअर्काप्रति अथाह प्रेम र समर्पण भावले भरिएको यस गीतको भिडिओमा नायक आकाश र नायिका मिशेलको जोडीलाई दर्शकले मनबाट रुचाउने छन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ l
मेहेनती, संस्कारी, सबैप्रति सद्भाव राख्ने सकारात्मक स्वभावकी मिशेल घिमिरेलाई म्युजिक भिडिओ तथा चलचित्रका लागि एक राम्रो सम्भावना भएकी कलाकारको रुपमा हेरिएको छ । कला क्षेत्रमा औपचारिक प्रवेशको छोटो समयमै लगभग डेढ दर्जन म्युजिक भिडिओ, लगभग आधा दर्जन नाटक र केही सिरियल फिल्महरुमा अभिनय गरेर दर्शकको मन जितिसकेकी मिशेलले हालै मात्र कथानक चलचित्र नरसिंहा मार्फत चलचित्र क्षेत्रमा समेत औपचारिक यात्रा सुरु गरेकी छिन् l एउटा बलियो आत्मविश्वास र लक्ष्यका साथ अत्यन्तै समर्पित भावले कला क्षेत्रमा मेहेनत गरिरहेकी मिशेलले विगतमा मण्डला थिएटरबाट अभिनय सम्बन्धी ६ महिने तालिम लिएकी थिईन् भने हाल उनी सर्वनाम थिएटरमा राज शाहसँग अभिनय सम्बन्धी नै विशेष प्रकारको तालिममा व्यस्त रहँदै आएकी छिन् l
