पतिको जन्मदिनमा साहित्यकार मञ्जिलाको अनमोल प्रेमोपहार

सर्जक अनिलनाथ उप्रेतीको जीवनकथामा आधारित निर्माणाधीन श्रव्यदृश्य गीतिकथा ‘जीवनपथ’ को छोटो अंश सार्वजनिक गरिएको छ l सखी प्रतिष्ठानले तपस होटल, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा सो भिडिओ प्रदर्शन गरिएको थियो l समारोहमा अनिलनाथको परिवारका अतिरिक्त उनका अत्यन्तै निकट र सीमित व्यक्तिहरुको उपस्थिति रहेको थियो l सो गीतिकथामा श्रव्यदृश्यतर्फ वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन/सम्पादन, गीत-सङ्गीततर्फ अनिलानाथकी धर्मपत्नी एवं साहित्यकार मञ्जिला अनिलको शब्द र लोकप्रिय सङ्गीतकार एवं गायक नरहरि प्रेमीको सङ्गीत/स्वर रहेको छ l

अनिलनाथ उप्रेतीको ५९ औं जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रम साहित्यकार मञ्जिला अनिलको सभापतित्व एवं साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको प्रमुख  आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, वरिष्ठ गायक सीताराम पोखरेल, लोकप्रिय गायक/ सङ्गीतकार नरहरि प्रेमी, कवयित्री मीना श्रेष्ठ, प्रसिद्ध छायाँकार/सम्पादक वीरेन्द्र भाट ‘विपिन’, साहित्यकारहरू विक्रमभक्त जोशी, सुभाषचन्द्र पौडेल, मधु पाठक, उषा के. सी., कला पत्रकार तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति रहेको थियो  ।

अनिलनाथ उप्रेतीले ४१ वर्ष लामो सेवा अवधि पूरा गरी नेपाल आयल निगमको अधिकृत पदबाट अघिल्लो दिन मात्र अवकाश प्राप्त गरेको कुरा  कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथि राधेश्याम लेकालीले सखी प्रतिष्ठानको उद्देश्य, गतिविधि तथा नेपाली साहित्यमा प्रतिष्ठानले पुर्‍याएको योगदानको चर्चा गर्दै अनिलनाथ उप्रेतीलाई जन्मदिनको शुभकामना दिएका थिए । वरिष्ठ कथाकार किशोर पहाडीले कवि मञ्जिलाको शब्दरचनाको प्रशंसाा गर्दै गीति चलचित्र अनिलनाथ उप्रेतीका लागि मञ्जिलाको प्रेमोपहार भएको बताए ।कार्यक्रममा वरिष्ठ गायक सीताराम पोखरेलले अनिलनाथ उप्रेतीसँगको आफ्नो सम्बन्ध, सहकार्य, अनुभव र सक्रियताको बारेमा संक्षेपमा प्रकाश पारे ।

यसैगरि सार्वजनिक गरिएको ‘जीवनपथ’ गीति म्युजिक भिडिओका सङ्गीतकार एवं गायक नरहरि प्रेमीले म्युजिक भिडिओबारे चर्चा गर्दै आफूले कर्म गर्दै आएको तर फलको आशा नराखेको बताए । प्रेमीले अनिलनाथ उप्रेतीको जीवनकथामा आधारित मञ्जिला अनिलको शब्दरचनालाई गाउन पाउँदा ज्यादै खुसी भएको भन्दै ‘जीवनको के भरोसा’ बोलको गीत पनि गएका थिए । कार्यक्रममा अनिलनाथ उप्रेतीले कवि मञ्जिलाको शब्दरचना, सङ्गीतकार नरहरि प्रेमीको सङ्गीत र स्वर तथा समग्र गीति चलचित्रको प्रशंसाा सहित आफ्नो गीत सर्जक कमला रिसालसित संयुक्त रुपमा गएका थिए । नेपाल आयल निगमका सहकर्मी इन्जिनियर अनुपम पराजुलीले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले स्वागत मन्तव्य राख्दै पतिको जन्मोत्सवको अवसरमा आफ्नो शब्दरचनामा गीति लघु चलचित्र प्रदर्शन गर्न पाएकोमा आभार प्रकट गरेकी थिईन् । समारोहमा अत्यन्तै प्रतिभाशाली उदियमान गायिका निशु शर्माले ‘जय होस् तिम्रो मङ्गल होस्’ बोलको गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिईन् भने कार्यक्रमको सहजीकरण सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले गरेकी थिईन्।