-तुलसी गिरी ‘भावुक’
गोल्डेन भ्वाइस, मखमली स्वरका धनी लगायत विभिन्न उपनामले विभूषित सर्वप्रिय गायक प्रेमध्वज प्रधानको ८९ औं जमजयन्तीको अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ l स्व. प्रधानको जन्मथलो सिन्धुपाल्चोकको चौतारामा मङ्गलबार आयोजित सो कार्यक्रममा सहभागिताका लागि काठमाण्डौबाट प्रतिष्ठानकी संस्थापक अध्यक्ष किरण प्रधान लगायत प्रतिष्ठानका पदाधिकारी, विशिष्ठ सर्जक-कलाकार र सञ्चारकर्मीहरु चौतारा पुगेका थिए l
प्रतिष्ठानकी अध्यक्ष किरण प्रधानको सभापतित्व एवं स्थानीय नगरप्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यत़ामा सम्पन्न सो समारोहमा प्रतिष्ठित गायिका मिरा राणा नगद रु. १ लाख १ सहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ बाट, प्रतिष्ठित वाद्यवादक मोहनकृष्ण कार्कीढली नगद रु. ५० हजार सहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्य सङ्गीत सम्मान २०८२’ बाट, लोकप्रिय गायक सुरज कुमार थापा नगद रु. ५० हजार सहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’ बाट र सिन्धुपाल्चोकबासी गायक चन्द्रसिंह घले नगद रु. २५ हजार सहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार २०८२’ बाट पुरस्कृत/सम्मानित भएका छन् l
प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर हरेक दुई-दुई वर्षमा आयोजना गरिँदै आएको पुरस्कार सम्मान कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष एवं स्व. प्रेमध्वज प्रधानकी धर्मपत्नी किरण प्रधानको ईच्छा बमोजिम यसपटक प्रेमध्वज प्रधानकै जन्मथलोमा आयोजना गरिएको कुरा थाहा भएको छ l समारोहमा सहभागिताका लागि काठमाण्डौबाट प्रतिष्ठित गीतकार दिनेश अधिकारी, प्रतिष्ठित गायिका तीर्थ कुमारी थापा, विशिष्ट सङ्गीतकार राजु सिंह, विशिष्ट सङ्गीतकार जुगल डंगोल, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्याशी थापा, साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, कला पत्रकार विदुर गिरी, तुलसी गिरी ‘भावुक’, युमास शेर्पा, रश्मी थापा लगायतका व्यक्तिहरु चौतारा पुगेका थिए भने सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी, नगरपालिका उपप्रमुख, प्रमुख सेनानी, प्रहरी उपरीक्षक लगायतका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो l
