२१ विधामा अवार्ड वितरण गर्दै सोह्रौं प्रिज्मा डिसिने अवार्ड सम्पन्न

सोह्रौं प्रिज्मा डि. सिने अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । बुधबार कीर्तिपुरस्थित सिनेप्लेक्स सिनेमा हलमा आयोजित भव्य कार्यक्रमका बीच मनोनयनमा रहेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । छायाँछवि क्रियसनको प्रस्तुतिमा आयोजना भएको सो अवार्ड समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. प्रमुख अतिथि रहेका थिए भने चलचित्रसंग सम्बन्धित विभिन्न २१ विधाका कलाकार, सर्जक र प्राविधिकहरुलाई अवार्ड प्रदान गरिएको थियो।

समारोहमा कलाकार दिपकराज गिरी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ अर्पण गरियो । नेपाली चलचित्र क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पुर्याएको योगदानको कदर गर्दै गिरी र उप्रेतीलाई सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ट कलाकारद्वय बसुन्धरा भुसाल, चैत्यदेवी लगायतको हातबाट दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सञ्चारकर्मी गीता अधिकारी ‘रेखा फिल्म्‌स् छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट नगद १६ हजार रुपैयाँ सहित पुरस्कृत भइन् ।

सोही समारोहमा अन्य गीत-संगीत, चलचित्र क्षेत्रका कलाकार र व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो । गायिका अनिता कुँवरलाई छायाँछवि गायनकला सम्मान अर्पण गरियो भने नवीनश्रेष्ठ, निखील बिसी, ओम अग्रवाल र प्रिज्योल भण्डारी छायाँछवि कला सम्मानबाट सम्मानित भए । त्यस्तै छायाँछवि संगीत व्यवसायी सम्मानबाट शिवराज पौडेल सम्मानित भए ।

अवार्ड कार्यक्रममा चलचित्र अगत्स्यबाट सौगात मल्लले सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाले भने केकी अधिकारी प्रसाद २ बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी भइन् । त्यस्तै, बुलाकी सर्वोत्कृष्ट फिल्म घोषित भयो भने भने दिमाग खराब चलचित्रबाट निश्चल बस्नेतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।

चलचित्र बुलाकीबाट राजबहादुर सानेले उत्कृष्ट लेखनको अवार्ड हात पार्दा नाङ्गो गाउँबाट शिशिर वाङदेल सर्वोत्कृष्ट खलपात्र घोषित भए । सर्वोत्कृष्ट छायाकार बुलाकीबाट शिव ढकाल, ऐंचो पैंचोबाट विपिन मल्ल/भूपेन्द्र अधिकारी सर्वोत्कृष्ट सम्पादक बन्न सफल भए । यसैगरि अर्जुन पोखरेल सर्वोत्कृष्ट संगीतकार उपहार (कहिले बार बिर्सिन्छु), प्रताप दास सर्वोत्कृष्ट पार्श्वगायक तिम्रो आखाँमा (नाईं नभन्नु ल – ६), दुर्गा खरेल तिमी बदनामी गीतबाट (नीरफूल )सर्वोत्कृष्ट पार्श्वगायिका, हर्क साउद रीत (जारी), शाश्वत श्रेष्ठले उपहार चलत्रिबाट सर्वोत्कृष्ट पार्श्व संगीतको अवार्ड हात पारे । उपहार चलचित्रबाटै सञ्जय श्रेष्ठले सर्वोत्कृष्ट ध्वनि मिश्रणको अवार्ड चुमे ।

यस्तै, जारी चलचित्रबाट उपेन्द्र सुब्बा उत्कृष्ट नवनिर्देशक घोषित भए भने रितेश चाम्स गोर्खा वारियरबाट उत्कृष्ट नवअभिनेताको अवार्ड उचाल्न सफल भए भने । नवअभिनेत्री अवार्ड नीरफुलबाट शान्ति वाइवाको हातमा पर्‍यो । उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड श्री श्रेष्ठले काँडेतारबाट चुमे भने कविराज गहतराजले काले केटाले (ऐंचोपैंचो) बाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड हात पारे । यसैगरि अगत्स्यबाट नाजीर हुसेन सर्वोत्कृष्ट सह–अभिनेता घोषित भए भने उपहारबाट  अभिनेत्री पूजा शर्मा सह–अभिनेत्री ठहरिन् । नवअभिनेता जुरी अवार्ड बुलाकी चलचित्रबाट बिराज विष्टले उचाले ।

अवार्डका लागि चलचित्र सेलेक्सन कमिटीको जुरीमा शोभा पाण्डे, राजन खरेल र कमल एक्चै मगर रहेका थिए । मोहन निरौलाको संयोजनमा बनेको अवार्डको जुरी मण्डलमा बिजय रत्न तुलाधर, सन्तोष श्रेष्ठ, शोभिता सिंखडा रहेका थिए । कार्यक्रममा वरिष्ठ गायिका देविका बन्दना, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, अभिनेता गजित विष्ट, प्रिज्मा टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी निराजन भण्डारीले संचालन गरेका थिए भने कार्यक्रममा अस्मिता पुरी र सुरेन बसेलको नृत्य समूहले सांगीतिक प्रस्तुति दिएका थिए ।