-तुलसी गिरी ‘भावुक’
हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार र पविर्तन सम्मान समारोहमा सिनेकर्मी एवं सञ्चारकर्मी गरी १४ जना सम्मानित/पुरस्कृत भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा हिजो सम्पन्न भएको सो समारोहमा विशिष्ट कलाकार वसुन्धरा भुसाल, चैत्य देवी, शिव श्रेष्ठ, लय सङ्ग्रौला, मिथिला शर्मा, सुभास गजुरेल, बोर्डका पूर्वअध्यक्ष राजकुमार राई लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार विष्णु सुवेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । यी तिनै पुरस्कारका संरक्षक तथा अध्यक्ष मोहन शमशेर जबरा हुन् । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गरेकी हुन् ।
परिवर्तन नेपालको आयोजनमा सम्पन्न सो कार्यक्रममा सम्झना उप्रेती रौनियार र कृष्ण प्रसाद ढुङ्गानालाई ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिएको थियो भने रविन्द्र सिंह बानियाँ, जे.बी. रुवाली, अमर वली, सविन श्रेष्ठ, गोपाल ढकाल ‘छन्दे’ र सुनिल कटुवाललाई ‘परिवर्तन-चलचित्रकर्मी विशेष सम्मान २०८१’ अर्पण गरिएको थियो । त्यस्तै सञ्चारकर्मी कृष्ण भुसाल, तुलसी गिरी ‘भावुक’ र कमला जोशीलाई ‘परिवर्तन-चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ-आफ्नो विधामा विशिष्ट योगदान दिँदै आएका चलचित्रकर्मी तथा पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा गर्वको अनुभूति भएको बताए । प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा चलचित्र पुरस्कार’को बेग्लै महत्व स्थापित भएको धारणा राख्दै नियुक्त हुने बित्तिकै आफूले वाचा गरेका मध्ये पूरा भएका पूरा हुनै लागेका कामको बारेमा जानकारी गराउँदै आउने दिनमा केही महत्वपूर्ण काम गर्न लागेको कुरा पनि स्पष्ट पारेका थिए।
पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेको कुरा जानकारी गराईएको छ । कार्यक्रम मायांका राणा सिरोहियाको सभापतित्वमा सम्पन्न भएको थियो । देवेन्द्र पाण्डेको संयोजनमा आयोजना भएको सो कार्यक्रमलाई निर्देशक एवं सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेका थिए ।
Photo: Badri Thapa
