विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा आयोजना भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।
सन् २००० मा समाजशास्त्रमा विद्यावारिधि गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिसकेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधि हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
डा. उपाध्यायले गीत र साहित्यमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएका छन्। सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत सङ्गीत र अन्य विविध विधामा गरी १ सय ५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडिओ पनि सार्वजनिक छन् । उहाँको नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा रहेको छ ।
