नर्थ क्यारोलिनामा ‘संसारको सेरोफेरो’ को लोकार्पण

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनामा डा. चन्द्र गिरीको यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ को भव्य लोकार्पण गरिएको छ। शनिबार आयोजित एक समारोहमा परिवारका सदस्यहरू, विशिष्ट अतिथिहरू र साहित्यप्रेमीहरूको उपस्थितिमा पुस्तकको लोकार्पण गरिएको हो। डा. गिरीको यस कृतिमा ६ वटा महादेशका ३६ वटा यात्रा संस्मरणहरू समेटिएका छन्। भौगोलिक विविधता, संस्कृति र प्रकृतिको मनमोहक चित्रणले यस पुस्तकलाई अन्य यात्रा संस्मरणहरूभन्दा भिन्न बनाएको छ। लेखकका रोमाञ्चक अनुभवहरू मात्र नभई, ती स्थानहरूको धर्म, संस्कृति, जीवनशैली, खानपान र ऐतिहासिक पृष्ठभूमिको समेत जानकारी यसमा समावेश गरिएको छ।

लोकार्पण समारोहमा प्रमुख अतिथि मदन पुरस्कार विजेता डा. नीलम कार्की निहारिकाले पुस्तकमा झल्किएको इमान्दारिताको प्रशंसा गर्दै लेखकलाई धन्यवाद दिनुभयो। उहाँले लेखनको शक्तिलाई निरन्तरता दिन आग्रह गर्नुभयो। एपलाचियन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. दिनेश पौडेलले भौगोलिक दृष्टिकोणबाट पुस्तकबारे आफ्नो विचार राख्नुभयो भने साहित्यकारहरू पेशल पोखरेल, मनोज प्रधान र शिव पलाँसले पुस्तकको बारेमा आफ्ना धारणाहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा नेपाल टक्सका अनन्त नेपालले ‘अडियो पुस्तक’ को अंश सुनाएर कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो। ख्यातिप्राप्त गायक मोहन भुषाल, बसन्त खड्का र अशोक अर्यालले गीत गाएर सुनाउनुभएको थियो।

आरम्भ नेपाली पुस्तकालय नर्थ क्यारोलिना, नर्थ क्यारोलिना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा इश्वर देवकोटाले अध्यक्षता गर्नुभएको थियो। मेधावी गिरीले स्वागत मन्तव्य, तेजस्वी गिरीले धन्यवाद ज्ञापन र डा. ऋषि बस्ताकोटीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

शब्द मिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन र वितरण गरेको यो पुस्तक केवल यात्रा विवरण मात्र नभई एउटा ज्ञानवर्धक सामग्रीका रूपमा समेत प्रस्तुत भएको छ।

* स्रोत: साहित्यपोष्ट