रमिताले चुमिन् क्यापिटल क्विन नेपालको ताज

यसपालीको क्यापिटल क्विन नेपालको ताज भक्तपुर बोडेकी रमिता भण्डारीले पहिरिन सफल भएकी छिन् l ताजसँगै उनले नेपाल फेसन इन्टरटेनमेन्ट अवार्ड २०२५ मा सहभागिताका लागि जापान जाने इन्द्री प्याकेज समेत प्राप्त गरेकी छिन् l सोमबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा मनिषा मगर फस्ट रनरअप तथा विपुला के.सी. सेकेन्ड रनरअप हुन सफल भएका छन् ।

हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रमको सातौं संस्करण सम्पन्न भएको हो । विविध पेशा, व्यवसायमा आवद्ध तथा गृहिणी महिलाहरुको प्रतिभा प्रस्फुटनको कार्यक्रम क्यापिटल क्विन नेपाल २०२४ मा लगभग एक दर्जन प्रतियोगीहरूले तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, फोटोसुट, भिडिओसुट लगायतका विविध विषयहरूमा तालिम लिएका थिए ।

चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरूले ‘आँखैमा राख्छु मेरो देश’ बोलको राष्ट्रिय गीतमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए । साथै परिचयात्मक चरण, सांस्कृतिक परिधान प्रस्तुति चरण, प्रश्नोत्तर चरण, लिखित चरण र क्राउनिङ चरण गरी विविधतापूर्ण ढङ्गले सम्पन्न भएको सो कार्यक्रममा प्रतियोगीहरुले निकै राम्रो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु पनि वितरण गरिएको थियो l जसमा रमिता भण्डारी मोस्ट इन्टिलिजेन्ट, मनिषा मगर वेस्ट फोटोजेनिक र मोस्ट पपुलर, विपुला के.सी. मोस्ट स्मार्ट, जुना भण्डारी वेस्ट पर्सनालिटी र पब्लिक च्वाइस, सृष्टि कला सिग्देल मोस्ट ऑप्टिमिस्टीक, रोजी ब्लोन मोस्ट डिलाइटफुल, रेनु गहतराज मोस्ट चार्मिङ, कोपिला परियार मोस्ट डिलिजेन्ट, सविना ब्लोन मोस्ट डेडिकेटेड र उर्वशी श्रेष्ठले मोस्ट एक्टिम सवटाइटल जितेका थिए ।

नायक एवं मोडल एसराज गराच, फेशन डिजाइनर सुक्निता चौंलागाई, मिसेस डिभा नेपाल २०२२ हेमा योञ्जन, मिसेस नोवेल नेपाल २०२२ शर्मिला थापा र मिसेस डिमा २०२४ सन्तु लामा निर्णायक मण्डल रहेको सो कार्यक्रम रोजिन शाक्यले सञ्चालन गरेका थिए ।