-तुलसी गिरी ‘भावुक’
प्रदेश नम्बर १ र २ बाट छिट्टै सार्वजनिक यातायातको सङ्गीत रोयल्टी पूर्ण रुपमा सङ्कलन हुने कुरा थाहा भएको छ l रोयल्टी व्यवस्थापनमा पहल गर्नका लागि हालै प्रदेश १ र २ को भ्रमणमा गएको टोलीका प्रमुख सङ्गीत तथा चलचित्र उत्पादक समाजका कार्यसमिति सदस्य शशी गुरुङले सो कुरा जानकारी गराएका हुन् l शशी गुरुङको नेत्तृत्वमा समाजका अर्का कार्यसमिति सदस्य उमेश गुरुङ, १ नम्बर प्रदेश प्रतिनिधि गौरीमान राई र २ नम्बर प्रदेश प्रतिनिधि सनी लिम्बू सहितको ४ सदस्यीय टोली राजधानीबाट तराई झरेको थियो l
‘प्रदेश नम्बर १ मा संशोधित ‘यातायात व्यवस्था ऐन २०७६’ जारी भईसकेको छ l नियमावली आउन बाँकी रहेकोले सो ऐन अहिले कार्यान्वयनमा आएको छैन l तीनवटै रोयल्टी सङ्कलन संस्थाहरुको पहलमा सो ऐनको दफा ३१ मा ‘वौद्धिक सम्पत्तिको हकमा सङ्गीत रोयल्टी तोकिए बमोजिम हुनेछ’ भन्ने लेखाईएको छ l नियमावली आएपछि सो प्रदेशबाट पूर्ण रुपमा सङ्गीत रोयल्टी सङ्कलन हुने कुरामा हामी विश्वस्त छौं’ नियमावली कार्यदलका सदस्य समेत रहेका शशी गुरुङले भने l
यसैगरी टोलीले मधेश प्रदेश (प्रदेश २) का मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, उप न्यायधिवक्ता पंकज दंगाल र भौतिक पूर्वाधार विकाश मन्त्रालयका सचिव दीपक कुमार दाससँग यातायात व्यवस्था ऐनमा सङ्गीत रोयल्टीलाई कसरी अनिवार्य गराउने भन्ने विषयमा व्यापक छलफल गरिएको कुरा टोली सदस्य उमेश गुरुङले जानकारी गराएका छन् l ‘उहाँहरुले सङ्गीत रोयल्टीलाई अनिवार्य गराउने विषय ऐनमा समावेश गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’ गुरुङले भने l
पूर्व समयमा प्रदेश नम्बर २ का विभिन्न यातायात कार्यालयहरुबाट सङ्गीत रोयल्टी उठिरहेको भएपनि विविध कारणवश बिचैमा रोकिएको थियो l टोलीले यसपटक वीरगञ्ज यातायात कार्यालयका प्रमुख कुशेश्वर साह र उपप्रमुख अजयलाल कर्ण, जनकपुर यातायात कार्यालयका प्रमुख वीरेन्द्र साह, वर्दिबास यातायात कार्यालयका प्रमुख पोषण कुमार थापा, लहानका यातायात कार्यालय प्रमुख मिन बहादुर भट्टराई र शहरी शाखा प्रमुख चिन्तननाथ आचार्यसँग समेत सङ्गीत रोयल्टी सङ्कलनलाई पुन: सुचारु गर्नका लागि छलफल गरेको कुरा थाहा भएको छ l सबै यातायात कार्यालय प्रमुखहरु अत्यन्तै सकारात्मक रहेको बताउँदै टोली प्रमुख शशी गुरुङले यही भदौ पहिलो साताबाटै केही कार्यालयबाट रोयल्टी सङ्कलन समेत सुरु हुने विश्वास व्यक्त गरेका छन् l ‘हामी केहीदिन पछि फलोअपका लागि पुन: तराई झर्दैछौं’ गुरुङले भने l